क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ 

क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो। 
 
प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा मृतकको स्वाबको पिसीआर परीक्षण गरिएको हो। यससँगै कर्णालीमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने नेपालमा ११ पुगेको छ। यसअघि शनिबार दैलेख दुल्लुका ३५ वर्षीय युवकको क्वारेन्टिनमै मृत्यु भएको थियो। 

यही जेठ ९ गते भारतको मुम्बइबाट आएका उनलाई अन्य ५४ जनासँगै विद्यापुरस्थित जनता मावि क्वारेन्टिनमा राखिएको पञ्चपुरी नगरपालिका–१ का वडाध्यक्ष धनबहादुर थापाले जानकारी दिए। 

 बुधबार साढे ४ बजे आरडिटी  गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई होम क्वारेन्टिन बस्ने शर्तमा पठाइएको थियो। सोही राति साढे १२ बजे घर पुगेका ती युवक नजिकैको मौरीपालन स्रोत केन्द्रको भवनमा बसेका थिए। 

कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको वडाध्यक्ष थापाको भनाइ छ। 

शवलाई प्रहरीले सुरक्षा दिइरहेको र वीरेन्द्रनगरबाट सेनाको टोली आइपुगेपछि व्यवस्थापन गरिने नगरप्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिए। 

शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली खटिएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए। 

प्रकाशित मिति: : 2020-06-05 11:47:04

प्रतिकृया दिनुहोस्