रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन

बिएल संवाददाता

काठमाडाै‌ं

रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ।

संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठन गरेको घोषणा गरेका हुन्। दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन्।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए। जसमध्य ६ जनाको शव भेरी नदी र नदी किनारमा भेटिएको थियो।

जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दिप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको शव नदिमा भेटिएको हो।

जाजरकोट भेरी नगरपालिका–४ का नवराज रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ की मल्ल थरकी १७ वर्षीया किशोरीसित प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा युवाहरुको हत्या भएको पीडित परिवारले बताएका छन्।

सो विषयमा घटनाको भोलिपल्टदेखि नै संसदमा सत्ता पक्ष र प्रतिपक्षले समेत संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। यो घटना जातीय विभेदका कारण नै भएको आरोप सहित छानबिनको माग गरिएको छ।

यता बिहीबार सोती घटनाको आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न रुकुम जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश दिएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताए। 

पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्। जसमध्य घटनामा संलग्‍न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। जाहेरी परेकामध्य २ जना अझै फरार छन्।  

प्रकाशित मिति: : 2020-06-05 12:34:11

प्रतिकृया दिनुहोस्