धनुषाका पत्रकारको कोरोना बिमा

नेपाल पत्रकार महासङ्घ धनुषाले ५० जना पत्रकारको ‘कोरोना बीमा’ गरेको छ।

पूर्वमन्त्री एवं सांसद मातृकाप्रसाद यादवले पहिलो चरणमा धनुषाका पत्रकारलाई कोरोना उपचार बीमाका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएपछि सङ्घले सो बीमा गरेको हो। 

कोरोना महामारीको उच्च जोखिममा रहेर आमनागरिकको घरदैलोमा सूचना पु¥याउने अग्रमोर्चामा खटिएका पत्रकारका लागि कोरोना बीमा गरिएको छ। 

पूर्वमन्त्री यादवले पत्रकार महासङ्घका अध्यक्ष अनिल मिश्रलाई ५० पत्रकारको विवरणसहित रकम हस्तान्तरण गरे। बीमा गरिएका पत्रकारमा कोरोना सङ्क्रमण देखिए रु एक लाख बीमा कम्पनीले उपलब्ध गराउने छ।

दोस्रो चरणमा पत्रकार महासङ्घका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने सो महासङ्घका अध्यक्ष मिश्रले जानकारी दिए। 

समाचार सङ्कलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुने भएकाले सानो सहयोगस्वरुप पत्रकारको बीमा गरिएको सांसद यादवको भनाइ छ।  

'पत्रकारको सुरक्षालाई ध्यानमा राखेर आफूले पाएको सेवा सुविधालाई कटाएर बीमाका लागि रकम दिएका हौं' उनले भने, 'यो महामारीको समयमा यसले सञ्चारकर्मीलाई आफ्नो कर्तव्य पूरा गर्न थप हौसला मिल्ने विश्वास राखेका छौं।' 

प्रकाशित मिति: : 2020-06-05 17:23:51

प्रतिकृया दिनुहोस्