प्रधानमन्त्री ओलीद्वारा कोभिड–१९ रोकथाम र नियन्त्रणबारे पालिकाहरुसँग छलफल

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा पालिकाका संघसङ्गठन तथा पदाधिकारीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न पालिकाले भोगेका समस्या, क्वरेन्टीनको निर्माण, स्वास्थ्य सामग्रीको अवस्था, आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटको बारेमा भएको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा पालिकाले खेलेको भूमिकाको सराहना गर्दै कोभिड–१९ को रोकथाम र नियन्त्रण संघ, प्रदेश र पालिकाले मिलेर गरेमात्र सफलता प्राप्त गर्न सकिने बताए ।

उनका अनुसार प्रधानमन्त्रीले कोभिड–१९ नियन्त्रण गर्नका लागि पालिकाका समस्याका बारेमा सुझावसमेत लिनुभएको थियो ।

उनले लामो समय लकडाउनका कारण मुलुकको आर्थिकलगायतका गतिविधि ठप्प रहेका भन्दै उक्त गतिविधि चलायनमान गराउनुपर्ने र कोभिड–१९ को नियन्त्रण पनि गर्नुपर्ने भएकाले दुवै चुनौतीलाई सँगैसँगै लैजानुपर्ने बताउनुभएको महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुका अनुसार प्रधानमन्त्री ओलीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले कोभिड–१९ नियन्त्रण गर्न पालिकाले भूमिका खेल्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले स्थानीय सरकार जति सक्रिय भयो त्यति नै चाँडो कोभिड–१९ नियन्त्रण गर्न सकिने बताए । उनले पालिकाको सवलीकरण गरेर मात्र मुलुकमा आर्थिक विकास गर्न सकिने धारणासमेत व्यक्त गरे ।

छलफलमा प्रधानमन्त्रीलाई पालिकामा कोभिड–१९ नियन्त्रण गर्न खेलेको भूमिका र समस्याका बारेमा आफूहरुले जानकारी गराएको अध्यक्ष ब्यान्जुले बताए । उनले सांसदलाई छुट्टाइएको स्थानीय पूर्वाधार विकास कोषको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खर्च गर्न प्रधानमन्त्रीसँग माग गरे ।

छलफलमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: : 2020-06-06 06:43:33

प्रतिकृया दिनुहोस्