थारुको मूलघर कहाँ ?

देशसञ्चार

काठमाडौँ

सूर्यनारायण चौधरी 

भनिन्छ, ‘तितो सत्‍य हुन्छ।’ मानिसहरु प्राय: तितो सत्य (इतिहास)लाई ओकल्‍ने प्रयास गर्दैनन् र रहस्‍यकै गर्भमा लुकाइरहेका हुन्छन्। तर एक न एक दिन त्यो तितो सत्‍य प्रमाणका साथ झल्झलाकार भएर साक्षात्कार हुन्छ। तर उक्त तथ्‍यलाई बार-बार इतिहासका पानाबाट नामेट पार्ने प्रयास भएको देखिन्छ। सबैलाई सर्वविदितै छ कि शताब्दीयौँदेखि नेपालको दक्षिणी समतल भू-भागमा बसोबास गर्ने पहिलो मूलबासी अर्थात आदिवासी हुन थारु जाति। यी आदिवासीहरुको गौरब गाथा पूर्णरुपबाट बेग्लै प्रकारको रहेको छ। यसलाई नेपाल सरकारले थारु जातिलाई आदिवासी अन्तर्गत सूचिकृत गरिसकेको सर्वविदितै छ। तर पनि थारु जातिको उत्पतिबारे बेला-बेलामा नेपालका नेता, सांसद तथा विभिन्‍न विद्वान एवम समाजशास्त्री र मानावसास्त्रीहरुले गलत, आधारहीन एवं कपोकल्पित सिद्धान्तहरु प्रतिपादन गर्ने गरेका छन्। केही महिनाअघि मात्रै संसदमा एकजना महिला सांसद/पूर्वमन्त्रीले थारुहरु भारतबाट आएका हुन भनेर भनिरँदा आदिवासी थारु समुदायको गौरवमय इतिहासबारे नै भ्रम सृजना भयो। उनले भनिरहेकी थिइन्, ‘थारुहरुको आफ्नै भूमि छैन।उनीहरु भारतबाट भागेर आएका हुन। मैले तथ्याङमा यही भेटे।’

हुन त अहिले लोकसेवामा सोधिने प्रश्नोत्तरमा पनि थारुहरु भारतको थार भूमिबाट आएका हुन भनेर पटक-पटक ती लेखकहरुले आधारहीन तरिकाबाट वर्णन जो गरिएका छन्। सायद उहाँ सोही लेखक तथा विद्वानहरुले थारुको उत्पतिको सम्बन्धमा गलत आधारहीन सिद्धान्तको कोपभाजनमा पर्नुभयो होला। यतिमात्र होइन उनीहरुले थारुहरु भारतको थार भूमिबाट तेह्रौ शताब्दी र सोह्रो शताब्दीको बीचतिर नेपाल तराइमा स्थानान्तरण भएका हुन भनेर किटानीका साथ निष्कर्ष नै निकालिदिएका छन्।अझ के लेखिदिएका छन् भने राजपुतनीहरु मुसलमानको आक्रमणको क्रममा आफ्ना नोकरचाकरका साथ चिथौरागढ,राजस्थानबाट भागेर नेपाल तराइको भू-भागमा बस्ती बसालेका हुन र सोही संसर्गबाट जन्मेका सन्तान थारु भए। यो जस्तो मुर्खतापूर्ण र बेतुकको प्रस्ताव सिवाय अरु केही हुन सक्दैन।राजपूत एवं तीनका सन्तानहरुले थारुहरुसँग विहावारी गरे होलान् किनभने त्यतिबेला तराइको शासक एवं भूमिपति थारुहरुबाहेक अरु कोही पनि थिएन। तर प्रश्‍न के उठ्छ भने किन राजपूतहरु भारतको अन्‍य बसोबासलायक स्थानहरुमा स्थानान्तरण नभइ त्‍यति परबाट औलोयुक्त तराइको जंगलमा आए ?

प्रकाशित मिति: : 2020-06-06 21:07:59

प्रतिकृया दिनुहोस्