जापानमा रहेका नेपालीले पठाए आविष्कार केन्द्रलाई २१ लाखको सामान, ‘स्वाब स्टिक’ बनाउने थ्रिडी प्रिन्टरसमेत नेपाल आइपुग्यो

स्वाब निकाल्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाउने थ्रिडी प्रिन्टरसमेत नेपाल आइपुग्यो

जापानमा रहेका नेपालीले राष्ट्रिय आविष्कार केन्द्रलाई २१ लाख बराबरको सामान सहयोग पठाएका छन्।

केन्द्रमा बनिरहेका विभिन्न उपकरणका लागि आवश्यक पर्ने सामग्री नेपाल आइपुगेको केन्द्रका सञ्चालक महाविर पुनले जानकारी दिएका छन्।

तीमध्ये स्वाब निकाल्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाउने थ्रिडी प्रिन्टरसमेत नेपाल आइपुगेको केन्द्रका प्रमुख महाविर पुनले बताए। उक्त प्रिन्टरको करीब १४ लाख रूपैयाँ पर्ने उनले बताए।

अमेरिकाबाट संकलन भएको ८ लाख रूपैयाँ र बाँकी सबै जापानबाट सहयोग संकलन गरेर सामानका पठाइएको उनले जानकारी गराएका छन्।

केन्द्रका प्रमुख पुनले अपुग रकमको लागि जापानमा रहेकालाई ऋण वा सहयोग गर्न अनुरोध गरेका थिए। तर, जापानबाटै २१ लाख २८ हजार रूपैयाँ सहयोग प्रदान भएको र केन्द्रलाई चाहिने अन्य सामान पनि किन्न सकिएको भनाइ छ।

एनआरएनए जापान, एमआरआर जापान, र अन्य दाताले कुल १९ लाख २७ हजार ८० जापानिज येन अर्थात २१ लाख ३० हजार रूपैयाँ रकम संकलन भएको उनले जानकारी दिए।

जापानमा उक्त सामानहरु खरिद गर्नेदेखि प्याकिङ गर्नका लागि सुभास गुरूङले ५ दिन खटेर काम गरेका थिए। यस्तै टोकियोबाट नारीता एयरपोर्टसम्म विकास लम्सालले पुर्‍याउन मद्दत गरेको थिए। साथै एयरपोर्टमा ती सामानलाई कस्टमबाट हवाईजहाजसम्म पुर्‍या‍उन ४ जना जापानिज कर्मचारीले ठूलो सहयोग गरेका र जापानमा रहेको नेपालीसँगै दूतावासले समन्वय गर्न ठूलो सहयोग गरेको उनले जानकारी दिए।

नेपाल एअरलाइन्सले १६५ केजी सामान निःशुल्क काठमाडौंसम्म ल्याउन सहयोग गरेको थियो।

हाल उक्त उपकरण राष्ट्रिय आविष्कार केन्द्रमा परीक्षण भइराखेको छ। उक्त प्रिन्टर सञ्चालन गर्न जेनरल टेक्नोलोजीका राम चन्द्र थापाको टीमले सहयोग गरेको छ। यसरी बनेको स्वाब संकलन गर्ने सुईरालाई सबभन्दा पहिला स्वास्थ्य मन्त्रालयमा लगेर प्रमाणिकरण गरेपछि स्वाव परीक्षण गर्ने सुईरा उत्पादन गरेर स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिने अभियन्ता पुनले जानकारी गराएको छ।

थ्रिडी प्रिन्टर जडान गरेर स्वाब संकलन गर्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाइनेछ। उक्त ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयले प्रमाणिकरण गरेपछि मात्र प्रयोगमा ल्याइने पुनको भनाइ छ। मन्त्रालयले प्रमाणिकरण गरेपपि ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयलाई नै प्रदान गरिनेछ।

आविष्कार केन्द्रले अहिले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने पीपीई सेट, मास्क, पञ्जा, स्वाब संकलन गर्ने बुथ लगायत सामग्री निर्माण गर्दै आएको छ।

सामाजिक अभियन्ता महावीर पुनको पहल र नेतृत्वम राष्ट्रिय आविस्कार केन्द्रले अग्रपंक्तिमा खटेर कोरोनाको रोकथामको लागि काम गर्नेलाई पीपीई, कोरोना बुथ, एरोसोल बक्स, भाइजर, रोबोट, युभिसी डिसइनफ्याक्ट बाकस, मरेको मान्छे राख्ने बाकस जस्ता चिजहरू राष्ट्रिय आविष्कार केन्द्रमा नै बनाएर सकेसम्म वितरण गरिरहेको छ।

यो संकटको स्थितिमा राष्ट्रिय आविष्कार केन्द्रले कोरोना रोकथामको लागि ती जिल्लामा सकेको सहयोग गर्न प्रयास गरिरहेका छौं। अहिलेसम्म ५८ जिल्लामा बिभिन्न सामाग्रीहरु दिएको पुनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-07 09:47:10

प्रतिकृया दिनुहोस्