वालिङका कोरोना संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो।

अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले सोमबार विज्ञप्ति जारी गरी पुष्टि गरेको हो। 

निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो।

उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ।

उनको मृत्युसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्युको यो पहिलो घटना हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा लगिएको थियो। मिर्गौलाको उपचारका अलावा उनलाई सुरक्षित रुपमा कोरोनाको उपचार गर्नपर्ने थियो। तर, कोरोना पहिचान भएको भोलिपल्टै उनको मृत्यु भयो।

नेपालमा अहिलेसम्म प्रदेश नम्बर १ बाहेक अन्य ६ वटै प्रदेशमा कोरोना संक्रमणको कारण मानिसहरुको मृत्यु भइसकेको छ।

अहिलेसम्म सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ ४ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ। त्यस्तै कर्णाली प्रदेशमा ३ जनाले कोरोना पोजेटिभका कारण ज्यान गुमाएका छन्। सुदूरपश्चिम प्रदेशमा पनि २ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

नेपालमा पहिलो कोरोनाबाट मृत्यु भएको वाग्मती प्रदेशमा अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, अहिलेसम्म प्रदेश नम्बर २ मा एक जनाको मात्र मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-06-08 08:51:02

प्रतिकृया दिनुहोस्