कपिलवस्तुको कृष्णनगर नाकामा मृत्यु भएका युवकसँगै आएका अर्घाखाँचीका ३० जनामा कोरोना संक्रमण

भारतबाट आउने क्रममा कपिलवस्तुको कृष्णनगर नाकामा मृत्यु भएका अर्चाखाँचीका एक युवकसँगै बसमा आएका ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले भारतबाट आएर क्वारेन्टाइनमा बसेका ३० जनामा नै संक्रमण पुष्टि भएको बताए।

“मृत्यु भएका युवकसँगै नाकासम्म आएका मानिसहरूलाई त्यहाँबाट छुट्टै ल्याएर क्वारेन्टाइनमा राखिएको थियो”, सहायक प्रमुख जिल्ला अधिकारी थापाले भने, “उनीहरू सबैमा आज कोरोना संक्रमण पुष्टि भएको छ।”

त्यहाँबाट आएका ५१ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। ३० जनामा संक्रमण पुष्टि भएको हो। सन्धिखर्क नगरपालिकाका २८ जना, पाणिनी र सितगंगाका एक/एक जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताए।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।

१० जेठमा कृष्णनगर नाकामा अर्चाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षीय युवकको मृत्यु भएको थियो।

नाकामा नै मृत्यु भएपछि उनको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि हुनु अघि नै मृतक युवकको अन्त्येष्टि गरिएको थियो।

प्रकाशित मिति: : 2020-06-08 15:20:49

प्रतिकृया दिनुहोस्