सेनाकाे दाबी: स्वास्थ्य सामग्री चीन सरकारबाटै तोकिएको कम्पनीबाट खरिद गरिएकाे हाे

नेपाली सेनाले कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारद्वारा–सरकार (जीटुजी) प्रकृयामार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने किसिमले विभिन्न संचारमाध्यमहरुमा प्रकाशित समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरुको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैमा अत्यन्त गम्भीर विषय भएको उल्लेख गरेको छ। 

सेनाले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ चैत्र १६ गतेको कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको निर्णयबाट सरकारद्वारा सरकार (जीटुजी) प्रकृया बमोजिम स्वास्थ्य सामग्री र उपकरण रक्षा मन्त्रायलमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्ने म्याण्डेट प्राप्त भएको स्पष््ट पारेको छ। 

‘तत्कालिन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीहरुको चरम अभाव भएको बिषम परिस्थितिमा समेत पारदर्शीताका साथै उच्चस्तरीय मितव्ययिता अपनाउन नेपाली सेनाले जीटुजी प्रकृयामार्फत सम्बन्धित देशको सरकारी प्रतिनिधी मात्रको प्रयोग गरी कमिशनरहित रुपमा प्रत्यक्ष कारोवार गर्न तथा अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अनुरुप आन्तरिक खरिद निर्देशिका समेत जारी गर्नुका साथै सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ मा आधारित रही सबै सरोकारवालाहरु (प्रतिनिधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय तथा आमन्त्रित विज्ञहरु) सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्न गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: : 2020-06-10 17:19:20

प्रतिकृया दिनुहोस्