विधेयक फिर्ता नलिए सरिता गिरीलाई कारवाही गर्ने पार्टीकाे चेतावनी

जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पार्टीले संविधान संशोधन विधेयक फिर्ता लिन निर्देशन दिएको छ।

 गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा र निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भन्दै संशोधन दर्ता गराएकी छन्। 

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो।  विधेयक दर्ता गराएपछि उनको चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो।

पार्टीले उनले नेपालको संविधानको दोस्रो संशोधन संसदीय दलका निर्देशन विना नै संशोधन हालेको ठहर गरेको छ। संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए। 

सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमा संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ। दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ।

उनका अनुसार भारतलाई नसोधी नक्सा प्रकाशन गर्न पाइदैन। उनले कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताउदै नेपाल, भारत र चीनबीचको सीमा निश्चित हुनुपर्ने बताइरहेकी छिन्। 

यता विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा जसपाकै नेताहरू लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए।

प्रकाशित मिति: : 2020-06-10 17:46:05

प्रतिकृया दिनुहोस्