‘कोरोनाबाट मुक्त हुने वातावरण बनाउनुस्, कार्पेट हामी दिन्छौं’

कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् ।

कुनै राजनीतिक दलको ब्यानरविना काठमाडौंको कीर्तिपुरमा नागरिकले कोरोना नियन्त्रणमा सरकारको कमजोर नीति र तयारीप्रति शान्तिपूर्ण प्रदर्शन गर्दै असन्तुष्टि पोखेका छन्।

सामाजिक सञ्जालहरुमार्फत सहभागी हुन आह्वान गरिएकाे शान्तिपूर्ण प्रदर्शनमा विशेष गरेर युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरुले विभिन्न नाराहरु लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए।

उनीहरुले सरकारले कोभिड १९को महामारी रोक्नका लागि खर्च गरेको भनेको १० अर्बको हिसाबकिताब सार्वजनिक गर्न माग गरेका छन्। यस्तै राष्ट्रपति कार्यालयले किन्न लागेको कार्पेटको समेत विरोध गरेका छन्। 

उनीहरुले कोरोना भाइरसबाट मुक्त बनाउने वातवरण बनाए कार्पेट आफूले दिनेसमेत बताएका छन्। 

यस्तै उनीहरुले कोरोना भाइरसको संक्रमण भएकाहरुले प्रभावकारी उपचार नपाएको, मृत्युपछि मात्रै रिपोर्ट आउने गरी परीक्षणमा ढिलासुस्ती गरेको, प्रभावकारी नमानिएको आरडीटी परीक्षण गरेर क्वारेन्टाइनमा बस्नेहरुलाई घर पठाउने गरेको जस्ता विषयको आलोचना गरिएका प्लेकार्ड पनि बोकेका थिए।

प्रकाशित मिति: : 2020-06-12 13:10:49

प्रतिकृया दिनुहोस्