चीनले उक्सायाे भन्ने भारतीय सेना र नेताकाे भनाइ ‘ब्वाँसोले पाठोलाई पानी धमिल्याएको जस्तो आरोप’ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालले आफ्नो भूमिबारे बोलेको कुरालाई अन्य मुलुकले उक्साएको भन्ने भारतीय नेता र सरकारी अधिकारीको भनाइलाई ‘ब्वाँसोले पाठोलाई पानी धमिल्याएको जस्तो आरोप’को संज्ञा दिए।

जेठ २ मा भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवणेले चीनतर्फ संकेत गर्दै सीमासम्बन्धमा यसअघि कुनै विवाद नरहेकोमा नेपालले ‘अरु कसैको इसारामा’ विरोध गरेको बताएका थिए। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि साेही कुरा बताएका थिए। 

प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसद सुवालले सरकारले ल्याएको नेपालको संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा बोल्दै सुवालले विगतका भूमिसुधारमन्त्रीहरू, परराष्ट्रमन्त्रीहरू, गृहमन्त्रीहरूका साथै नापी विभागका अधिकारीहरूले गल्ती गरेका कारण भारतले कालापानी क्षेत्रलगायतमा कब्जा जमाउन पाएको बताए। 

भारतीय कूटनीतिज्ञले ६० वर्षदेखि उक्त भूमिमा भारतीय सेना रहेको भन्दै दाबी गर्दै आएको कुराले पनि त्यो भूमि नेपालको रहेको पुष्टि हुने गरेको उनको भनाइ थियो।

उनले ३० वर्ष यताका प्रधानमन्त्री, भूमिसुधारमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा किन नसमेटेको भनेर संसद्ले सोध्‍नुपर्ने माग गरेका छन्। 

उनले भारतसँगको महाकाली सन्धि पनि देशको हितमा नरहेकाले खारेज गर्नुपर्ने माग पनि गरे।

प्रकाशित मिति: : 2020-06-13 17:06:18

प्रतिकृया दिनुहोस्