संविधान संशोधनपछि भारतले भन्‍यो - नेपालको कदम द्विपक्षीय समझदारी विपरीत

नेपालले नयाँ नक्सा अनुसार संविधानको अनुसूचिमा रहेको निशान छापलाई परिमार्जन गर्न शनिबार गरेको संविधान संशोधनलाई द्विपक्षीय समझदारी विपरीत भनेको छ।

उसले यसलाई नेपालले हासिल गर्न नसक्ने कदमको रुपमा व्याख्या गरेको छ।

‘नेपालले भारतीय भूमिसमेत समेटेर नेपालको नक्शा परिमार्जन गर्नका लागि प्रतिनिधि सभाबाट संविधान संशोधन गरेको कुरा हामीले जानकारीमा लिएका छौं। यस विषयमा हामीले आफ्नो पोजिसन (अडान) प्रष्ट पारिसकेका छौं,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबारकाे मिडिया ब्रिफिङका क्रममा भनेका छन्।

विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपालको ‘अप्राकृतिक विस्तारको दाबी’ ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नभएको हुँदा त्यो कुरा हासिल हुन नसक्ने दाबी गरे।

‘यो कुरा थाँती रहेको सीमा मुद्दाबारे वार्ता गर्ने हाम्रो अहिलेको समझदारीको पनि विरुद्धमा छ,’ उनले भनेका छन्।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपाली नक्सा सार्वजनिक गरेपछि सोहि अनुसार संविधानको अनुसूचिमा रहेको निशान छाप पनि परिमार्जन गर्न शनिबार संविधान संशोधन गरेपछि भारतको सो प्रतिक्रिया आएको हो। 

यसैबीच  नेपालले २० मेमा जारी गरेको नयाँ राजनीतिक र प्रशासनिक नक्सा निशान छापमा राख्‍न संविधान संशोधन गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले आजको दिनलाई नेपाल-भारत सम्बन्धको दु:खद दिन भएको टिप्पणी गरेको छ । 

भारतीय कांग्रेसका प्रवक्ता रणदीप सुर्जेवालले ट्विटमार्फत भनेका छन्, "नेपाल र भारतको वर्षौं पुरानो द्विपक्षीय सम्बन्धका लागि यो दु:खद दिन हो । नेपाल र भारतबीच यस्तो परिस्थिति सिर्जना हुनुमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्व पंक्ति जिम्मेवार छ । " 

प्रवकता सुर्जेवालले भनेका छन्, "आफूलाई बलियो नेतृत्व दाबी गर्ने भाजपाको नेतृत्वले राष्ट्रिय हित रक्षा गर्ने मामिलामा शुर्तमुर्गको जस्तो व्यवहार देखाएको छ ।" 

प्रकाशित मिति: : 2020-06-13 23:48:31

प्रतिकृया दिनुहोस्