सुविधासम्पन्न बन्दैछन् प्रदेश-५ का स्वास्थ्य संस्था

हिमाल खबर

काठमाडौँ

मुकेश पोखरेल

तीन वर्ष अघिसम्म तत्कालीन लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दैनिक सुत्केरी हुनेको संख्या बढीमा १० जना थियो । दैनिक पाँच जनासम्म सुत्केरीको मात्र शल्यक्रिया सम्भव थियो ।

जम्मा चार जना चिकित्सक थिए । शल्यक्रिया कक्ष एउटा मात्र थियो । ‘पोस्ट अपरेटिभ वार्ड’ मा पनि जम्मा ६ वटा मात्र बेड थियो । वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. श्रीधर आचार्य भन्छन्, “भौतिक पूर्वाधार र जनशक्ति अभावले चाहेर पनि पर्याप्त सेवा दिनसक्ने अवस्था थिएन ।”

अहिले अवस्था फेरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईका अनुसार दैनिक २० जनासम्म सुत्केरीको शल्यक्रिया सम्भव छ । अस्पतालमा चार वटा शल्यक्रिया कक्ष बनिसकेका छन् ।

अहिले १६ जना चिकित्सक कार्यरत छन् । भट्टराई भन्छन्, “पहिला बेड संख्याको कमिले भर्ना लिन सक्ने अवस्था नै थिएन, कोही पनि सुत्केरी शल्यक्रिया नभएर ज्यान गुमाउनुपर्ने अवस्था छैन ।”
पछिल्लो दुई वर्षमा अस्पतालको मुहार नै फेरिएको छ । बिरामी आउने क्रम पनि बढेको छ । अस्पतालका अनुसार गत वर्ष १२ हजारले अस्पतालबाट सुत्केरी सेवा लिएका थिए ।

प्रकाशित मिति: : 2020-06-17 08:06:04

प्रतिकृया दिनुहोस्