संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट आज पारित हुँदै

राष्ट्रियसभाले बिहीबार संविधान संशोधन विधेयक पारित गर्दैछ। राष्ट्रियसभाको बैठक बिहीबार अपराहन्न चार बजे बस्ने छ।

 तल्लो सदन प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिका आधारमा पारित भएको विधेयकमाथि त्यसको भोलिपल्ट राष्ट्रियसभामा छलफल भएको थियो।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गरेपछि जेठ ३२ गते आइतबार राष्ट्रियसभाको दोस्रो बैठकमा विधेयकमाथि छलफल भएको थियो। सोही दिन नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो।

७२ घण्टाको समय सकिएपछि राष्ट्रियसभाले बिहीबार विधेयक पारित गर्ने तयारी गरेको हो। बिहीबारको बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्। यसअघि नै संशोधन र विचार गरियोस् भन्ने प्रस्ताव पेश भइसकेको छ। 

सांसदहरुले संविधान संशोधन प्रस्तावमाथि आफ्नो धारणा राखेपछि त्यहाँ उठेको प्रश्नहरुको जवाफ पुन कानुनमनत्री तुम्वाहाङफेले जवाफ दिने छिन्। उनको जवाफपछि राष्ट्रियसभा विधेयक पारित गर्ने दोस्रो कार्यसूचीमा प्रवेश गर्ने छ।

राष्ट्रियसभामा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 

सरकारले लिपुलेक–लिम्पियाधुरासहितको भू–भाग समेटेर जारी गरेको नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन विधेयक पेश भएको हो।

राष्ट्रियसभाका कुल सदस्यको दुईतिहाइले संशोधनको पक्षमा मतदान गरेरमा यसलाई पारित गरिन्छ। संविधान संशोधनमा कुनै पनि दल विपक्षमा नभएकाले राष्ट्रियसभाबाट संशोधन विधेयक सर्वसम्मतीले पारित हुने निश्चित जस्तै छ।

यसरी संघीय संसदको दुवै सदनबाट पारित भएको विधेयकलाई प्रतिनिधिसभाका सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउने छन्। प्रमाणीकरण हुँदै राजपत्रमा प्रकाशित भएपछि संविधान संशोधनको औपचारिक प्रक्रिया पूरा हुनेछ।

प्रकाशित मिति: : 2020-06-18 09:26:55

प्रतिकृया दिनुहोस्