२० मध्ये दुईतीनजना मात्रै कोरानका कारण मृत्यु भएको हो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः कोरोनाकै कारण २० जनाको मृत्यु नभएको दावी गरेका छन्। 

बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले विश्व स्वास्थ्य संगठन  (डब्लुएचओ)को मापदण्डका कारण मात्रै उनीहरुको मृत्यु कोरोनाका कारण भएको मान्नुपरेको दोहोर्‍याएका हुन्।

उनले भने, ‘ हालसम्म २० जनाको निधन भएको छ। तर मृत्यु भएका मध्ये दुईतीनजना मात्रै कोरानका कारण मृत्यु भएको हो।  एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको  हुनसक्छ। उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ।’

प्रधानमन्त्री ओलीले बैठकमा नेपालीहरुको प्रतिरोधी क्षमताका बढी भएको कारण मृत्यु हुनेको संख्या कम भएको बताए। उनले रोगप्रतिरोधी क्षमता वृद्धिमा बेसार उपयोगी रहेको पनि बताए।

उनले भने,‘ हामीले इम्युन सिष्टम कसरी बढ्छ भनेर कुरा गर्दा त्यसलाई उडाएका पनि छन्। मैले सडकमा पनि देखेँ। कतिपयले बेसार खाएर निको हुन्छ रु बेसार जे को लागि पनि निको हुन्छरु भनेर पनि निस्किए। बेसार उपचार मात्र हैन कहिलेकाहिँ बिषको पनि काम गर्छ। तर एउटा एन्टिबायोटिक, औषधीय गुणको तत्व हो बेसार भनेको। त्यसैले कुनै चिजको साइड इफेक्ट हुन्छ, कतिबेला खान हुन्छ कतिबेला हुँदैन भन्ने हुन्छ। बेसार पनि कुनै कुनै अवस्थामा खान हुँदैन। रत्तअल्पता भएको छ, जण्डिस भएको छ भने बेसार खान हुँदैन। रोगी, सुत्केरी महिलाले बेसार खान हुँदैन। आइरन, रगतको कमी छ भने बेसार खान हुँदैन। अप्रेशन गर्नुछ भने ७२ घण्टा अगाडिदेखि बेसार खान हुँदैन।’

उनले बाहिरबाट आउनेको संख्या ठूलो भएकाले उचित प्रबन्ध पुर्‍याउन नसकेको स्वीकार गरे। प्रधानमन्त्री ओलीले देशमा बाहिरबाट आउने संक्रमितको संख्या ठूलो भएको बताए।

प्रकाशित मिति: : 2020-06-18 15:31:51

प्रतिकृया दिनुहोस्