पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अलकायदाका नेता तथा अमेरिकाले आतंकवादी घोषणा गरेका ओसामा बिन लादेनविरूद्धको लडाईमा अमेरिकालाई साथ दिनु नै पाकिस्तानको सबैभन्दा ठूलो भूल भएको बताएका छन्। उनले पाकिस्तानको सासंदमा अमेरिकालाई सहयोग गरेर अघिल्लो नेतृत्वले ठूलो भूल गरेको बताए।
उनले अमेरिकी सेनाले पाकिस्तानमा प्रवेश गरेर लादेनलाई सहिद बनाएको तर पाकिस्तानलाई कुनै जानकारी नदिएको बताए। यो घटनाले विश्वमा पाकिस्तानको छवी खराब भएको पनि बताए।
इमरानले अमेरिकाको अभियानमा लागेर पाकिस्तानले ७० हजार आफ्नो जनता गुमाएको पनि बताए। ‘विदेशमा बसोबास गर्ने पाकिस्तानीले लज्जित बन्नु पर्यो। २०१० पछि पाकिस्तानमा ड्रोनबाट हमला भयो। सबैले यसको निन्दा मात्र गरे,’ इमरानले भने। अमेरिकी सेनाको एउटा विशेष अपरेशनमा २ मे २०११ मा लादेन इस्लामाबाद नजिकैको एबटाबादमा मारिएका थिए। उनको लासलाई अमेरिकी सेनाले समुन्द्रमा फ्याँकेका थिए।
अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी हमला गर्ने योजनाका मुख्य नेतृत्वकर्ता लादेन पछिल्लो समय पाकिस्तानको आर्मी बेस क्याम्प नजिकै रहेको एबटाबादमा लुकेर बसेका थिए।