पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ ।

पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् । 

उनीसँगै अरु तीन जनलाई पनि ३४ बर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्वन्धी काम कानुन विपरित गरेको भन्दै दोषी दावी गरेर मुद्दा दायर गरिएको हो ।
  
स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहनुभएका ७० बर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ । 

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री हुनुभएका शरिफलाई यस अघि भ्रष्टाचारसम्वन्धी अन्य मुद्दा पनि लगाइएको छ ।

अहिलेको मुद्दामा उहाँसँगै दोषी दावी गरिएकामा जङ्ग÷जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् ।

सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाएको दावी गरिएको छ ।  

सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोग्नु भएका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन गएका हुन् । 

उनी उपचारका लागि चार हप्ताका लागि मात्रै अनुमति पाएपनि अहिलेसम्म बसिरका छन् । शरिफकी श्रीमतीको पनि दुई बर्ष अगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो । 

प्रकाशित मिति: : 2020-06-27 14:29:24

प्रतिकृया दिनुहोस्