भतिजीसँग डोनल्ड ट्रम्पको हार, प्रकाशन हुने भयो 'टु मच एन्ड नेभर इनफ' 

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै भतिजी मेरी ट्रम्पको पुस्तक प्रकाशनमा रोक लगाउन गरेको कानुनी लडाईं हारेका छन्। बुधबार न्युयोर्क राज्यको पुनरावेदन अदालतका न्यायाधीश एलन डी सिल्कम्यानले न्युयोर्ककै तल्लो अदालतका एक न्यायाधीशले एक दिन अगाडि गरेको निर्णय उल्टाउदै भतिजी ट्रम्पको पुस्तक प्रकाशन गर्न पाउँने निर्णय गरिदिए। यो फैसलासँगै काका ट्रम्प कानुनी लडाई मात्र हारेका छैनन्, प्रतिष्ठा युद्धमा पनि धुलिसात भएका छन् । 

हुन त यो मुद्दाका बादी डोनल्ड ट्रम्प हैनन्, उनका कान्छा भाइ रोबर्ट ट्रम्प हुन् । तर, उनले यो मुद्दा दाजु ट्रम्पका लागि भतिजी ट्रम्पविरूद्ध दायर गरेको जगजाहेर छ। यो मुद्दामा भाइ ट्रम्पको प्रतिनिधित्व दाइ ट्रम्पकै वकिलले गरिरहेकाले पनि त्यो तथ्य जगजाहेर भएको हो। 

हुन त यो विषयमा न्युयोर्कका न्यायाधीश पनि माछो माछो भ्यागुत्तोको खेलजस्तै खेलिरहेको जस्तो देखिन्छ। वितेका पाँच दिनमा यही विषयमा तीन अदालतले  तीनवटा फरक फरक फैसला गरिदिएर छन्। सुरूमा काका ट्रम्प यो मुद्दा लिएर क्विन्स काउन्टी  सरोगेट कोर्टमा गएका थिए। त्यहाँका एक न्यायाधीशले यो मुद्दाको कार्यक्षेत्र नै नभएको भन्दै मुद्दा न खारेज गरिदिएका थिए ।

अर्को दिन रोबर्ट डचेस काउन्टी सुप्रिम कोर्टमा मुद्दा लिएर गएका थिए। त्यसको अर्को दिन त्यहाँका एक न्यायाधीशले काका ट्रम्पको पक्षमा फैसला गर्दै भतिजी ट्रम्पले पुस्तक प्रकाशन गर्न नपाउँने निर्णय गरिदिए। त्यस निर्णयको विपक्षमा अर्को दिन न्युयोर्क स्टेट अपिलियट कोर्टमा पुनरावेदन गर्न गएकी भतिजी मेरीको पक्षमा बुधबार निर्णय आयो।

यो निर्णयसँगै भतिजी ट्रम्पले काका ट्रम्पमाथि लेखेको पुस्तक 'टु मच एन्ड नेभर इनफ : हाव माइ फेमिली क्रियटेड द वल्ड्'स द मोस्ट डेन्जर म्यान' आगामी जुलाई २८ मा प्रकाशन हुने भएको छ। प्रकाशक सिमोन एन्ड शुसरले पहिलो संस्करणमा ७५ हजार प्रति  पुस्तक बजारमा ल्याउने घोषणा गरेको छ। 

मेरी ट्रम्प राष्ट्रपति ट्रम्पका जेठो दाजु फ्रेड ट्रम्प जुनियरकी छोरी हुन्। क्लिनिक साइकोलोजीमा विद्यावारिधि गरेकी उनी अहिले ५५ वर्षकी भइन्। उनका बाबुको ४४ वर्षको उमेरमै अत्याधिक मदिरापानका कारण सन् १९८१ मा निधन भएको थियो। त्यसपछि उनले काका डोनल्ड ट्रम्पले आफ्ना बाजेको ४०० मिलियन डलर एकलौटी लगेको भनेर लामो समय मुद्दा गरेकी थिइन्। त्यो मुद्दा सन् २००१ मा पारिवारिक सहमतिमा टुंगिएको थियो। 

प्रकाशित मिति: : 2020-07-02 10:55:27

प्रतिकृया दिनुहोस्