साम्राज्ञीलाई भुवन केसीको चेतावनी-थप अपमान गरे साईबर क्राइमको मुद्दा हाल्छु

कलाकार भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहलाई आफ्नो अपमान नगर्न सचेत गराएका छन्। बिहिबार फेसबुकमा स्टाटस लेख्दै उनले सामाजिक सञ्जालमार्फत भिडीओ बनाएर आफ्नो मानहानी तथा प्रतिष्ठामा आँच आउने काम गरिएको भन्दै उक्त कार्य तत्काल बन्द गर्न चेतावनी दिएका हुन्। 

फेसबुकमा केसीले स्टाटस लेख्दै भनेका छन्, “झुठा लान्छना लगाउने कार्य गरे-गराएमा तपाई उपर प्रचलित साइबर कानून र मानहानी सम्बन्धी कानूनको प्रयोग गरेर मलाई पुग्न गएको मान सम्मानको हानी नोक्सानी उपर तपाईबाट एथोचित क्षतिपूर्ति गराउने र तपाईलाई कानून बमोजिमको सजाय भागेदारी गराउनुको निमित्त आवश्यक कानूनी प्रक्रियाको थालनी गर्ने व्यहोरा बडो दुःखका साथ जानकारी गराउँदछु।”

केसीले शोषण गरेको आरोप लगाउँदै साम्राज्ञीले भिडिओ बनाउँदै इन्स्टाग्राममा पोष्ट गर्दै आएकी छन्। जुन आरोपप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले लेखेका छन्, “४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट चलचित्र निर्माण गरी आजसम्म चलचित्र क्षेत्रमै कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी त्यस्ता सामाग्री नहाल्न सूचित गर्दछु।”  

साम्राज्ञी काजल फिल्मको चलचित्र ड्रिम्सबाट डेब्यू गरेकी थिइन्। चलचित्र छायांकनको क्रममा पानी पनि नदिएको, छाता ओढ्न नपाएको लगायतका आरोप लगाएकी साम्राज्ञीलाई भुवनले त्यस्ता झुठा आरोप नलगाउन भनेका छन्। 

साम्राज्ञीको नाममा केसीले पोस्ट गरेको पत्र : 

डियर साम्राज्ञी,
तपाईंलाई पहिलो पटक नायिकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्सबाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति तपाईं धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु! करिब ६ वर्षअगाडि निर्माण भएर प्रदर्शन समेत भएर सुपर हिट भएको चलचित्र ड्रिम्सको सुटिङको क्रममा पानी खान पाइन, छाता ओढ्न पाइन, सुविधा प्राप्त भएन भन्नेजस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन वर्ष पछाडि र आज भोलिमात्र मलगायत अरु निर्माताहरुलाई पनि गालीगलौज गरेको देख्दा आश्चर्य लागेको छ। आफूलाई ब्रेक दिने पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुठा कुराहरु उल्लेख गरेर तपाईंले मेरो बारेमा आफ्नो इन्स्टाग्रममा भिडियो बनाई पोस्ट गर्नुभएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

अब उप्रान्त तपाईंले म भुवन केसीले विगत करिब चालिस वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्र क्षेत्रमा रातदिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठाहरुमा आघात पुग्नेगरी पुनः त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्राम, फेसबूक या अन्य कुनै पनि सामाजिक सन्जालमा पोस्ट नगर्नहुन सुचित गर्दछु!

मेरो यो सूचनाको बावजुद तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं उपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट एथोचित क्षतिपुर्ति गराउने र तपाईंलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनको निमित्त आवश्यक कानुनी प्रकृयाको थालनी गर्ने व्यहोरा तपाईंलाई बढो दु:खका साथ जानकारी गराउँदछु|

भवदीय भुवन के.सी
सिनामंगल ,काठमाडौं ,वडा न.९
मिति २०७७ साल, अषाढ १८ गते
शुभम्!

प्रकाशित मिति: : 2020-07-03 00:17:31

प्रतिकृया दिनुहोस्