मोदीको लद्दाख भ्रमणको फेरि आलोचना

चीनसँग सीमा विवाद भएको लद्दाख क्षेत्रको भ्रमण गरेर फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घरभित्रै फेरि अर्को आलोचनामा फसेका छन्। 

मोदीले शुक्रबार अचानक लद्दाखको भ्रमण गरेका थिए। बिहान साढे नौ बजे राजधानी दिल्लीबाट सेनाको हेलिकोप्टरमा उडेका मोदी साँझ ५ बजेसम्म लद्दाखमा थिए। उनले निमु फरवार्ड पोस्टको निरीक्षण गरेका थिए। यसबीच उनले सेना, बायुसेना र आइटीबीपीका सेनासँग भेटघाट गरेका थिए। 

भ्रमणका क्रममा मोदी लद्दाखको राजधानी लेहस्थित जुन अस्पतालमा घाइते सैनिकको अवस्था बुझ्न गएका थिए यही विषयमा विवाद सुरु भएको हो। उनी गएको भनिएको अस्पताल वास्तविक अस्पताल नभएर कन्फ्रेन्स हल भएको दावी गरिएको छ। 

प्रधानमन्त्री मोदीलाई सहज होस् भनेर सेनाले उनीहरूलाई आर्मी क्याम्पकै कन्फ्रेन्स हलमा सिफ्ट गरेको दावी सहित विरोध गरिएको छ। तर, भारतीय सेनाले यो दावी अस्विकार गरेको छ। 

सेनाका अनुसार जुन स्थानमा जवानलाई राखिएको छ, त्यहाँ अडियो–भिडियो भिजुअल हल भएको भन्दै सेनाले आरोपमा सत्यता नभएको बताएको छ। सेनाले कोरोना भाइरसको संक्रमणका कारण आइसोलेसन सेन्टरका लागि हतारमा यसलाई तयार पारिएको दावी गरेको छ। 

जुन १५ मा गलवान उपत्यकामा भएको झड्पमा घाइते भएका भारतीय सेनालाई उपचारका लागि यहाँ ल्याइएको थियो। 

सन् २००५ मा तनावकै अवस्थामा पूर्व प्रधानमन्त्री मनमोहन सिंह ७३ वर्षको उमेरमा कार्डियो सर्जरीका बाबजुद १२ हजार फिट उचाईमा रहेको सियाचिन पुगेको भन्दै केही कांग्रेसीले मोदीको भ्रमणलाई मिडिया प्रचारबाजी भनेका छन्। 

मनमोहन गुपचुप सियाचिन गएको तथा त्यति बेला चीनको अगाडि बढ्न लागेको अभियानलाई विफल तुल्याउन सफल भएको भन्दै मोदीको आलोचना गरिएको छ। 

६३ वर्षीय मोदीले लद्दाखको भ्रमण गरेपनि चीनले कब्जा गरेको भारतीय भूभागलाई छुटाउन नसकेको भन्दै विपक्षी कांग्रेसले मिडियाबाट प्रचारबाजी गर्दैमा भूमि फिर्ता नआउने बताएका छन्।

प्रकाशित मिति: : 2020-07-04 17:40:51

प्रतिकृया दिनुहोस्