ललितपुरमा ढल र मङ्गल सफा गर्ने  प्रविधि भित्रियो

ललितपुर जिल्लामा जिटिङ, रोडिङ एन्ड ग्र्याबिङ नामक नयाँ प्रविधि भित्रिएको छ। महानगरपालिका–३ ले पानीको ढल र मङ्गल सफा गर्न उक्त प्रविधि भित्र्याएको  वडाध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिए। 

वडाध्यक्ष महर्जनका अनुसार वडाले वार्षिक रुपमा पाउने रु दुई करोडको बजेटमध्ये चालू आर्थिक वर्षको रु ७७ लाख तिरेर सो प्रविधि खरिद गरेको हो। 

'यो प्रविधिले २० फिटमुनिसम्मको फोहर झिक्ने काम गर्छ। यस प्रविधिभित्र एक हजार ५०० लिटरको पानी ट्याङ्की पनि हुन्छ' उनले भने। 

सो वडा पाटनढोकादेखि कीर्तिपुरसम्म जोडिन पुग्ने भएकाले जनताको सुविधाका लागि सानो रकममा सहयोग प्रदान गर्ने उद्देश्यका साथ ल्याइएको महर्जनले बताए। 

सो प्रविधिले तीन किसिमको काम गर्नेइ बताउदैं उनले भने, 'एउटा पानी सफा गर्ने, ढलभित्र भएका बोरा, पुराना कपडा तथा प्लाष्टिक तान्ने र अर्को भने प्रविधिको सहायताले सफा पानी प्रयोग गरी मङ्गाल भित्रको फोहर तान्ने काम पनि गर्छ।' एभिडा कामधेनु नामक कम्पनीको प्रविधि नेपालमा पहिलोपटक भित्र्याएको महर्जनको दाबी छ। 

सो प्रविधिलाई इन्धनको प्रयोग गरी सञ्चालन गराउनुपर्ने उनले बताए। 'वडाभित्र प्रविधिलाई प्रयोग ल्याउनुपूर्व यसमा एक चालक, दुईजना सहयोगी र प्रविधिले हरेक पटक झिकेको फोहर व्यवस्थापन गर्ने स्थानको सुनिश्चितता हुनुपर्ने छ' महर्जनले भने, 'महानगरपालिकाको अन्य २८ वडामा यस प्रविधिलाई प्रयोग गराउनुपूर्व  हामीले समितिसँग बसी छलफल गरेर त्यसै अनुरुपको सेवा र सुविधा दिने लिने निर्णय गराउनेछौं।' 

प्रकाशित मिति: : 2020-07-04 18:21:21

प्रतिकृया दिनुहोस्