मन्त्रिपरिषद् विस्तारित बैठक गरी प्रधानमन्त्रीले भने– राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि म दुवै पद छोड्दिनँ

प्रधानमन्त्री केपी ओलीले मन्त्री, राज्यमन्त्री,सल्लाहकारहरुसहित आफ्नो टीमको विस्तारित बैठक आयोजना गरी राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि अहिले आफूले दुवै पद नछाड्ने बताएका छन् । 

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमसहित सचिवालयका छ जनासहितले ओलीलाई दुवै पद छाड्न दबाब दिइरहेका बेला ओलीले परिस्थितिबारे आफ्नो टीमलाई ब्रिफिङ गरेका हुन् । 

एक सहभागीले दिएको जानकारीअनुसार, ओलीले भनेका थिए, ‘अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ । त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुन्न । यदि राष्ट्रियता जोगिन्छ, कम्युनिस्ट आन्दोलन बच्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुने गरी अहिले म दुवै पद छोडेर त्यसो हुन दिन्नँ ।’

मन्त्रिपरिषद्को विस्तारित बैठकअघि प्रधानमन्त्री ओली शितल निवास गएर राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले नेकपाभित्र विकसित हुँदै गएको राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए । 

बैठकमा महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले केन्द्रीय सचिवालय र स्थायी कमिटी दुवै पार्टी एकता जोगाउन अक्षम हुँदै गएको भन्दै जुनसुकै मूल्य चुकाएर भए पनि केन्द्रीय कमिटीले पार्टी फुट्न नदिने बताएको ती सहभागीले बताए ।

प्रकाशित मिति: : 2020-07-04 23:06:41

प्रतिकृया दिनुहोस्