कक्षा ११ परीक्षा नहुने, १२ काे अनुकूल समयमा लिइने

कक्षा ११ को अन्ति परीक्षा रद्द, १२ कक्षाको परीक्षा उपर्युक्त समयमा हुने

काठमाडौं

कक्षा ११ को अन्तिम परीक्षा योवर्ष नहुने भएको छ। शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गर्दै यो वर्ष अन्तिम परीक्षा नगर्ने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद बैठकले परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको हो।

अब एसईईकै जस्तो गरी कक्षा ११ का विद्यार्थीको पनि आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने भएको हो।

विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको भन्दै भट्टराई सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीलाई कसरी नम्बर दिने भन्ने कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको जानकारी दिए।

कोरोना महामारीले परीक्षा सम्भव नभएकोले आन्तरिक मूल्यांकन प्रणाली अपनाउनुपरेको उनले बताए।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो।

निर्देशक भट्टराईका अनुसार कक्षा १२ को बोर्ड परीक्षा भने अनुकूल समयमा लिइन्छ। कोरोना महामारी कम भएपछि उक्त परीक्षा हुनेछ।

कोरोनाका कारण यसअघि एसईई परीक्षा पनि स्थगित भएको थियो। शैक्षिक सत्र २०७६ सालको एसईई परीक्षा पनि विद्यार्थीको आन्तरिक मूल्यांकनबाट गर्न लागिएको हो।

प्रकाशित मिति: : 2020-07-05 12:42:52

प्रतिकृया दिनुहोस्