किम कार्दासियनका श्रीमान कान्येको अमेरिकी राष्ट्रपतिको चुनावमा उठ्ने घोषणा

बिएल संवाददाता

वासिङ्टन, डिसि

चर्चित अमेरिकी र्‍यापर तथा नायिका किम कार्दासियनका श्रीमान कान्ये वेस्टले आगामी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफू पनि उठ्ने बताएका छन्। 

उनले शनिबार राती ट्वीट गर्दै भने, ‘अब हामीलाई भगवानको विश्वास गर्दै अमेरिकाको उद्देश्यलाई पूर्णता दिनुछ। आफ्नो दृष्टीकोणलाई एकरुपता दिँदै भविष्यका लागि काम गर्नु पर्नेछ। म अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उठ्न गइरहेको छु।’ 

कान्येको यो ट्वीट एक घण्टामै १ लाख पल्ट रि–ट्वीट भइसकेको छ। 
टेस्ला कम्पनीका सिईओ एलन मस्कले पनि ट्वीट गर्दै भनेका छन्, ‘तपाईलाई मेरो पूर्ण समर्थन छ।’ मस्कले यसअघि पनि डेमोक्रेटिक उम्मेदवार एन्ड्रयु यङको समर्थन गरिसकेका छन्। 

कान्येले धेरै अगाडि देखि चुनाव लड्ने कुरा भन्दै आइरहेका छन्। उनले गत वर्ष मात्र भनेका थिए कि उनी २०२४ को तयारी गरिरहेका छन्। कान्ये र उनको श्रीमती किमले जेलमा रहेका व्यक्तिहरुलाई बाहिर निकाल्ने अभियानमा थुप्रै पल्ट सरकारसँग मिलेर काम गरिसकेका छन्। 

कान्ये २०१८ मा ट्रम्पको ओभल कार्यालयमा पनि देखिएका थिए। उनले राष्ट्रपतिको चुनाव लड्न फेडरल इलेक्सन कमिशनको औपचारिकता पुरा गरेका छन् कि छैनन्, त्यो स्पष्ट भएको छैन। 

यदी कान्ये चुनावमा उठे भने उनले थुप्रै चुनौति खेप्नुपर्ने हुन्छ। चुनावी वर्षमा चुलाईदेखि प्रचार अभियान सुरु गर्नुपर्ने हुन्छ। उनले अमेरिकाको ५० राज्य तथा कोलम्बियाको जिल्लामा ब्यालेटका लागि छनोट हुनुपर्ने छ। 

त्यसैले उनका लागि कुनै राजनीतिक संगठन बिना राष्ट्रपति चुनावमा भाग लिन निकै कठिन छ।

प्रकाशित मिति: : 2020-07-05 12:46:48

प्रतिकृया दिनुहोस्