के महामारीकै बीच होला त रातो मत्स्येन्द्रनाथको जात्रा ?

हिमाल खबर

काठमाडौँ

नुनुता राई

सामान्य अवस्थामा रातो मत्स्येन्द्रनाथ र मीननाथ जात्राको तयारी २७ चैतदेखि गरिन्छ। उक्त दिन रथ बनाउने साइत–पूजा गरेपछि भोलिपल्टबाट रथ बनाउन थालिन्छ। उपत्यकाकै सबैभन्दा लामो रातो मत्स्येन्द्रनाथ जात्रा वैशाखशुक्ल प्रतिपदादेखि शुरू भई असारशुक्ल चौथीमा समाप्त हुन्छ। 

यो वर्ष १२ वैशाखमा देउता विराजमान गराई १५ वैशाखबाट रथ तान्ने साइत थियो। तर, कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको बन्दाबन्दीले रथ नै बनाइएन। अरू जात्रा रोकिए पनि यी जात्राको तयारी थालिएको ललितपुर गुठी संस्थान प्रमुख राजन भुजु बताउँछन्।

२७ चैतमा रथ बनाउने साइत–पूजा मात्रै भएको थियो। अहिले पुल्चोकको रथखेलमा १० असारबाट रातो मत्स्येन्द्रनाथको रथ बनाउन थालिएको छ । मीननाथ जात्राको लागि टंगालमा १७ असारबाट रथ बनाइँदैछ। रथ बन्न १५ दिन लाग्ने भुजु बताउँछन्। दुवै रथ एकै दिन रथखेलबाट तानिन्छ। त्यसका लागि उपयुक्त साइतमा मीननाथको रथ रथखेल ल्याइन्छ।

बन्दाबन्दी खुकुलो भएकाले परम्परालाई निरन्तरता दिन जात्राको तयारी थालिएको भुजु बताउँछन् । उनी भन्छन्, “रथ बनाउन शुरू भइसकेको छ । अहिलेको अवस्था कायम हुन्छ वा फेरिन्छ भन्ने निश्चित नभएकाले हतार नगरेका हौं।”

प्रकाशित मिति: : 2020-07-06 08:31:51

प्रतिकृया दिनुहोस्