सडक पिच गर्न माग गर्दै हरिसिद्धिका महिला आन्दोलित

सडक पिच गर्नुपर्ने भन्दै ललितपुर हरिसिद्धिका महिलाहरू आन्दोलित भएका छन् ।

‘गुमज महिला समूह’ को आह्वानमा हरिसिद्धिका विभिन्न महिला समूहहरूले सोमबार गुमज चोकमा बाटो अवरूद्ध गर्दै नाराबाजी गरेका छन्।

उनीहरूले ‘कोरोनाले भन्दा धूलो खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यता हो’, ‘चाँडो सडक पिच गर’ लगायत नारा लगाएका थिए। साथै आन्दोलित महिलाहरूले विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए ।

गुमज चोकबाट साइकलमा समेत आउजाउत रोक लगाइएको छ । यद्यपि एम्बुलेन्स आवागमनमा भने रोक नलगाइएको नेवाः मिसा पुच महिला समूहकी अध्यक्ष नीरा महर्जनले बताइन् ।

ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिएको भन्दै उनले पानी पर्दा सडक हिलाम्मे हुन्छ, घाम लाग्दा धूलो उडेर बस्नै नसक्ने भएपछि हामी बाटो बन्द गर्न बाध्य भएको बताइन्।

सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्ने आन्दोलित महिलाहरूको भनाइ छ ।

यसैबीच सरकारले बाटो बढाउन मुआब्जा कम दिएको भन्दै हरिसिद्धिका बासिन्दाले भने सडक विस्तारमा रोक लगाएका छन्। तर, भएको सडक पिच नगरेर सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ। उनीहरूले भनेअनुसारकै मुआब्जा सरकारले दिनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: : 2020-07-06 11:28:59

प्रतिकृया दिनुहोस्