चिनियाँ विदेशमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबीच भेट, मुठभेड नगर्ने सहमति

 भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका छन्। लगभग दुई देशबीचको सीमा विवाद भिडन्तको स्थितिसम्म पुगिसकेको पृष्ठभूमिमा उनीहरुबीच भएकाे भेटघट अर्थपूर्ण रुपमा लिइएकाे छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भेटमा सीमामा कुनै पनि किसिमको मुठभेड नगर्ने र तनावलाई सामान्य बनाउन दुवै देश सहमत भएका छन्। 

दुई महिनाअघि दुई देशको सिमावर्ती लदाखमा चिनियाँ सेनाको कारबाहीमा एक उच्च अधिकारी सहित २० भारतीय सैनिक मारिएपछि चीन-भारत तनाव चर्किएको छ। घटनालगत्तै दुवै देशले त्यस क्षेत्रमा द्वन्द्व नचाहेको र स्थिरताका लागि आफूहरु वार्ता गर्न तयार रहेको बताएका थिए।

सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा एक साताअघि डोभलले यीलाई टेलिफोन गरेका थिए। सीमा विवाद समाधान गर्ने विषयमा गठित विषेश संयन्त्रका लागि डोभल र यी दुई देशका आ-आफ्ना प्रतिनिधि हुन्। विशेष प्रतिनिधिबीच अन्तिमपटक गत डिसेम्बरमा भेटघाट भएको थियो।

भारतको विदेश मन्त्रालयले सोमबार निकालेको विज्ञप्तिमा दुवै प्रतिनिधीले आफ्ना कुराहरु सहजै तर गहनरुपमा राखेको उल्लेख छ। दुई देशका सरकार प्रमुखहरुले आपसका अघिल्ला भेटहरुमा देखिएका असहमतिलाई विवादसम्म पुग्न दिइने छैन भनी गरेका प्रतिबद्धताका विषयमा पनि कुरा उठेको बताइएको छ।

छलफलमा दुवै देशले वास्तविक सीमा रेखालाई सम्मान गर्ने र भविष्यमा सीमा क्षेत्रमा शान्ति भंग हुन नदिने विषयमा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

यता चिनियाँ विदेश मन्त्रालयले पनि विज्ञप्ति जारि गर्दै सिमामा अग्रपंक्तिमा परिचालन हुने सेनाले मुठभेड नगर्न र तनावलाई कम गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

प्रकाशित मिति: : 2020-07-07 05:53:16

प्रतिकृया दिनुहोस्