नेकपामा विवाद चर्किरहेका बेला खनाललाई भेट्न डल्लु पुगिन् राजदूत होउ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

खनाल र राजदूत होउबीच मंगलबार बिहान डल्लुस्थित खनाल निवासमा भेट भएकाे हाे। 

राजदूत होउले नेता खनालसँग करिब ४५ मिनेट कुराकानी गरेकाे नेकपा सम्बद्ध स्रोतले जानकारी दिएको छ। तर के कुराकानी भयाे भन्ने विषयमा खुलाइएकाे छैन। 

तर नेकपाभित्र बढेका विवाद मिलाउन केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ। यसअघि उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन्।

राजदूत होउले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी थिइन्।

यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्।

 

प्रकाशित मिति: : 2020-07-07 11:36:39

प्रतिकृया दिनुहोस्