भारतमा प्रतिबन्ध लगाइएको टिकटक हङ्कङमा पनि बन्द हुँदै,अमेरिकामा प्रतिबन्ध लगाउने तयारी

चर्चित भिडियाे एप टिकटकले नयाँ सुरक्षा कानुनका कारण हङकङबाट हट्ने भएको छ । पछिल्लो समयका घटनाक्रमलाई हेरेर हङकङमा टिकटक एप सञ्चालन नगर्ने निर्णय गरेको हङकङ सरकारका प्रवक्ताले बताएका छन्।

समाचार संस्था रोयटर्सले हङकङबाट टिकटक केही दिनमै हट्ने उल्लेख गरेको छ। फेसबुक र ट्विटरले यसै साता हङकङ प्रहरीसँग प्रयोगकर्ताको जानकारीसम्बन्धी सहकार्य हाललाई रोक्ने बताएका छन्।

चिनियाँ कम्पनी बाइटडान्सले टिकटकलाई चीनबाहिरका प्रयोगकर्ताका लागि निर्माण गरेको हो । सो कम्पनीले चीनभित्र भने त्यस्तै खाले डोयिन नामक एप सञ्चालन गर्छ ।

वाल्ट डिज्ने कम्पनीका पूर्वप्रशासक केभिन मायरले नेतृत्व लिएको टिकटकले प्रयोगकर्ताको जानकारी चीनमा भण्डार नगरिने बताएको छ ।

कम्पनीले यसअघि नै चीन सरकारले कुनै सामग्री हटाउन वा कुनै प्रयोगकर्ताको जानकारी मागेमा नदिने बताएको थियो। उसले अहिलेसम्म चीन सरकारले त्यस्तो अनुरोध नगरेको बताएको छ।

एपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केभिन मेयरले पनि पटक पटक कम्पनीले चीनमा डेटा स्टोर गरेर नराखेको बताएका छन्। एपमा सार्वजनिक गरिने सामाग्रीहरुमा कैंची चलाउन वा प्रयोगकर्ताको डेटामा पहुँच दिनेबारे चीन सरकारको कुनै पनि अनुरोध आफूले पालना नगर्नेसमेत कम्पनीले बताएको छ । 

कम्पनीको पछिल्लो निर्णय असामान्य देखिए पनि यो रणनीतिक भएको विश्लेषण गरिएको छ । कम्पनी चिनियाँ कानून मातहत संचालन भएको र यो चीनको नियन्त्रणमा छ भन्ने शंका दूर गर्न कम्पनीले निकै संघर्ष गरिरहेको छ । 

हङकङमा लागू भएको नयाँ सुरक्षा कानूनले चिनियाँ अधिकारीहरुलाई व्यापक रुपमा नयाँ शक्ति दिएको छ । यसले त्यहाँ प्रयोगकर्ताको डेटाको गोपनीयताबारे चिन्ता उब्जाएको छ । 
गत हप्ता फेसबुक, ह्वाट्सएप, ट्विटर, गूगल र टेलिग्राम सबैले हङकङमा आफ्नो संचालनमा परिवर्तन गर्ने घोषणा गरेका थिए ।

यसैबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्न सक्ने बताएका छन्।

उनले अमेरिका टिकटकसहित चिनियाँ सामाजिक सञ्जालका विभिन्न एपलाई प्रतिबन्धित गर्ने विषयमा अमेरिकाले विचार गरिरहेको बताए।

पोम्पेओको भनाइपछि टिकटकका प्रवक्ताले भने, ‘टिकटकको नेतृत्वमा एक अमेरिकी छन् र अमेरिकामा यसको सुरक्षा, उत्पादन र नीतिमा काम गर्ने सयौँ कर्मचारी छन्।’

छिमेकी मुलुक भारतले यसअघिनै टिकटकसहित ५९ चिनीयाँ एपमा प्रतिबन्ध लगाएको छ। भारतमा त टिकटक प्रतिबन्ध लगाएका कारण कैयौं मानिसले आत्महत्या समेत गरेका छन्। एजेन्सी

प्रकाशित मिति: : 2020-07-08 08:21:54

प्रतिकृया दिनुहोस्