संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
समिति सभापति कल्याणीकुमारी खड्काले विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न निर्देशन दिएकी हुन्।
लामो समय ट्याक्सी चलाउन नपाएपछि व्यवसायी र मजदुरले सरकारको ढोका ढकढक्याउन थालेका छन्। लकडाउनको कारण आयआर्जन ठप्प हुँदा गुजारा चलाउन गाह्रो भएको भन्दै उनीहरुले प्रदर्शन पनि गरेका छन्।
बुधबार समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरहरुसँगको छलफल भएको थियो।
ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको गुनासो राखेका थिए। उनीहरुले गाडी नचल्दा बैंकबाट ऋण लिएर सवारी किनेका व्यवसायी र सवारी चलाएरै जीवन निर्वाह गर्दै आएकालाई गाह्राे भएकाे बताए।
सरकारले अनुमति नदिए पनि कतिपय व्यवसायीले भने हातमुख जोर्ड नै धौधौ भएको भन्दै लुकीछिपी ट्याक्सी चलाउने गरेका छन्। यसरी चलाइएका ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ।