नेकपाका अध्यक्षद्वयको ‘वान टु वान’ वार्ता बिना निष्कर्ष टुंगियो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको ‘वान टु वान’ वार्ता बिना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ करिब दुई घण्टा वार्ता भएपनि कुनै ठोस सहमति जुट्न सकेन। उनीहरुबीच बिहीबार फेरि वार्ता हुने बताइएको छ। पार्टीभित्रको विवाद मिलाउन अध्यक्षद्वय विगत तीन दिनदेखि निरन्तर संवादमा छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ।

यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै ३ घण्टा वार्ता भएको थियो।

प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि दाहालले हिजो वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर आजकोे बैठकलगायतका विषयमा कुरा गरेका थिए।

दाहाल र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा गराउने मनशायमा छन्। ओलीले भने दुबै पद नछाड्ने अडान राखेका छन्।

यता पछिल्लो समय पार्टीमा अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर विवाद चुलिएसँगै यही असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठक चार पटक स्थगित गरिएको छ।

प्रकाशित मिति: : 2020-07-08 19:17:52

प्रतिकृया दिनुहोस्