होल्डरको घातक बलिङसँगै पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट

कप्तान जेसन होल्डरको घातक बलिङसँगै पहिलो टेष्ट खेलको पहिलो इनिङमा घरेलु टोली इंग्ल्यान्ड २ सय ४ रनमा अल आउट भएको छ।

साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो इनिङमा बिहीबार दोस्रो दिन दोस्रो सेसनमा ६७.३ ओभरमै अल आउट हुन पुगेको छ। 

१ विकेटको क्षतिमा ३५ रनबाट दोस्रो दिनको खेल थालेको इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए। स्टोक्सले ९७ बलमा ७ चौका प्रहार गरेका थिए। 

खराब प्रर्दशन गरेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि कप्तान बेन स्टोक्स र उप–कप्तान जस बटलरले ६७ रनको साझेदारी गरे।

उनलाई ५३.३ ओभरमा होल्डरले विकेटकिपर शेन डोरीचबाट क्याच गराए। होल्डरले लगत्तै ५५.४ ओभरमा बटलरलाई ३५ रनमा क्याच आउट गराए। बटलरले ४७ बलमा ६ चौका प्रहार गरे।

यता दोस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर शेनन ग्याब्रियलले ओपनर डोम सिब्लेलाई शून्यमा बोल्ड आउट गरेका थिए। अर्का ओपनर रोरी बन्र्सलाई पनि ग्याब्रियलले ८५ बलमा ४ चौका सहित ३० रनमा एलबिडब्लू आउट गरे। ग्याब्रियलले जो डेनलीलाई १८ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई दबाबमा राखेका थिए।

होल्डरले ज्याक क्रलीलाई १० रनमा एलबिडब्लू आउट गरे। होल्डरलेनै ३७.४ ओभरमा युवा ब्याट्सम्यान ओली पोपलाई १२ रनमा आउट गरे। होल्डरले जोफ्रा आर्चरलाई शून्यमा एलबिडब्लूको शिकार बनाउँदै आफ्नो ब्यक्तिगत पाँच विकेट पूरा गरे। 

अन्तिम विकेटका लागि स्पिनर डोम बेस र तीव्र गतिका बलर जेम्स एन्डरसनले ३० रनको साझेदारी गर्दै दुई सय रन कटाएका थिए। 

बेस ४४ बलमा ४ चौका सहित ३१ रनमा अविजित रहे। एन्डरसनलाई ग्याब्रियलले २० बलमा १ चौका सहित १० रनमा बोल्ड आउट गरे। 

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले ४२ रन खर्चेर ६ विकेट लिए। अर्का तीव्र गतिका बलर शेनन ग्याब्रियलले ६२ रन खर्चेर ४ विकेट लिए।

प्रकाशित मिति: : 2020-07-10 06:39:03

प्रतिकृया दिनुहोस्