ब्राजिलपछि बोलिभियाकी राष्ट्रपतिलाई पनि कोरोना संक्रमण

ब्राजिलका राष्ट्रपति कोरोनाबाट संक्रमित भएको केही सातामै दक्षिण अमेरिकाको अर्को राष्ट्र बोलिभियामा त्यहाँकी कार्यवहाक राष्ट्रपति जेनिन एन्जले चाभेज पनि कोरोना संक्रमणबाट पीडित भएकी छिन्।

 बिहीबार उनले आफै यसको जानकारी दिइन्। उनले ट्वीट गर्दे भनिन्, ‘कोरोना टेस्टमा मेरो रिपोर्ट पोजिटिभ आएको छ। म अहिले ठिक छु र आइसोलेसनबाट काम गरिरहेको छु।’ 

जेनिन गत नोभेम्बरमा मात्र बोलिभियाको सत्तामा पुगेकी थिइन, जब पूर्व राष्ट्रपति इभो मोरालेसलाई चुनावमा धाँधली गरेको आरोपमा पद छोड्न चौतर्फी दबाब पर्‍यो। आउँदो सेप्टेम्बरमा अर्को निर्वाचन नहुँदासम्म उनी पदमा बहाल रहनेछिन्। 

भर्खरै मात्र बोलिभियाका तीन मन्त्री कोरोनाबाट प्रभावित भएका थिए, जसमा स्वास्थ्य मन्त्री इडी रोकालाई पनि कोरोना संक्रमण भएको थियो। 
बोलोभियामा ४३ हजार संक्रमित देखिएका छन्, जसमा १५ सयको निधन भइसकेको छ। यसै साता ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोमा कोरोनाको संक्रमण देखिएको थियो।

 दक्षिण अमेरिकी राज्यमा सबैभन्दा बढी संक्रमणको घटना ब्राजिलमा भएको छ। ब्राजिलमा १७ लाखभन्दा बढी संक्रमित फेला परेका छन्, जसमा ६८ हजारभन्दा बढीको निधन भइसकेको छ। अमेरिकापछि ब्राजिल विश्वमा सर्वाधिक कोरोना प्रभावित देश हो। अमेरिका पहिलो नम्बरमा छ।

प्रकाशित मिति: : 2020-07-10 10:30:34

प्रतिकृया दिनुहोस्