सम्मान

(भुजङ्गप्रयात छन्द)

सबै देव देवी गरेँ है प्रणाम
सबै पूज्य मान्यादिमा त्यै समान
नमस्ते नमस्कारको बीज छर्छु
सबैको म मानार्थ सम्मान गर्छु ॥१॥

सबैको भलो चाहने यै छ बानी
कसैको कहिल्यै म चाहन्न हानि
अवस्था विचारी म सन्ताप हर्छु
सबैको म मानार्थ सम्मान गर्छु॥२॥

म चाहन्छु कल्याण सारा जगत्को
सबै स्वस्थ होउन् गरून् काम सक्दो
नसक्दा सहारा बनी लागिपर्छु
सबैको म मानार्थ सम्मान गर्छु ॥३॥

समस्या नआओस् सजातीय भित्र
बिचल्ली नहोउन् कुनै इष्ट मित्र
यही सोच मेरो मनैमा म धर्छु
सबैको म मानार्थ सम्मान गर्छु॥४॥

यसै भावमा (भानु जयन्ती वि. सं.२०७७) प्रति -

छ मेरो नमस्कार आचार्य भानु
म श्रद्धाञ्जली दिन्छु तस्वीर सामु
म भाषा र साहित्यको मान गर्छु
सधैँ काव्य पीयूषको पान गर्छु।

प्रकाशित मिति: : 2020-07-13 16:35:00

प्रतिकृया दिनुहोस्