भारतीय सेनाले इन्सासको ठाउँमा अमेरिकी राइफल प्रयोग गर्ने 

लामो समयदेखि प्रयोग गर्दै आइरहेको इन्सास राइफललाई परिवर्तन गर्दै भारतीय सेनाले अमेरिकामा बनेको एसआइजी ७१६ असल्ट राइफल प्रयोग गर्ने भएको छ। 

चीनसँग बढ्दो सीमा विवादका बीच भारतीय सेनाले अमेरिकासँग ७२ हजार धान राइफल खरिद गर्न लागेको हो। भारतीय सेनाको उत्तरी कमाण्ड तथा केही अन्य क्षेत्रमा रहेका भारतीय सेनालाई यसअघि पनि अमेरिकी राइफल उपलब्ध गराइएको थियो। 

अमेरिकाको हतियार निर्माता कम्पनी सिग सोयरले भारतमा राइफलको आपूर्ति गर्नेछ। यसले हाल भारतीय सेनाले प्रयोग गरिरहेको इन्डियन स्माल आम्र्स सिस्टम (इन्सास) ५ दशमलव ५६ गुणा ४५ मिमी राइफललाई प्रतिस्थापन गर्नेछ। 

आतंकवाद विरोधी अभियान र सीमामा खटिएका सेनाका लागि सरकारले १ लाख ५० हजार राइफल खरिद गर्न लागेको हो। सेनाका अन्य जवानका लागि एके–२०३ राइफल खरिद गर्ने भारतको तयारी छ। यसको निर्माण भारत र रूस मिलेर अमेठीको ओर्डिनेन्स फ्याक्ट्रीमा गर्नेछन्। 

सेनाका अनुसार एसआइजी ७१६ असल्ट राइफल नजिक र लामो दुरीका लागि निकै प्रभावशाली मानिन्छ। इन्सास राइफलमा म्याग्जीन फुट्ने समस्या धेरै आइरहेको थियो। अमेरिकाबाट खरिद गर्न लागेको राइफलमा यस्तो कुनै समस्या देखिदैन। 

यस्तै रक्षा मन्त्रालयले इजराइलबाट १६ हजार लाइट मेशिन गन किन्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ।

प्रकाशित मिति: : 2020-07-13 08:21:12

प्रतिकृया दिनुहोस्