पहिराले लमजुङमा २ घर बगायो, २७ घर विस्थापित

अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ का दुई घर पहिराले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताए।

त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीयवासी पौडेलको भनाइ छ। एक्साभेटरले पहिरो हटाउने कार्य गरिरहेको छ। सो वडास्थित रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ। उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।
 
सो क्षेत्रका विभिन्न घर तथा बस्ती जोखिममा रहेको र विभिन्न स्थानमा बाढीपहिराले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। सो क्षेत्रमा प्रहरी र स्थानीयवासी मिलेर स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उनको भनाइ छ । सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले  विभिन्न स्थानमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ । रासस

प्रकाशित मिति: : 2020-07-13 12:56:07

प्रतिकृया दिनुहोस्