प्युठानको शहीद स्मृति उद्यानमा विभिन्न संरचना निर्माण

गाँजुरीमा बन्न लागेको शहीद स्मृति उद्यानमा विभिन्न संरचना निर्माण भएका छन् । गत आर्थिक वर्ष ०७५/०७६ देखि प्युठान नगरपालिका –४ मा उद्यान निर्माण थालिएको हो । उद्यानमा चालु आवमा १९९७ सालका चार शहीद गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको शालिक निर्माण गरिएको छ ।

त्यस्तै रेलिङ, पर्खाल तथा सडक निर्माणको काम सम्पन्न भएको निर्माण व्यवस्थापन समितिका सचिव झविन्द्र शर्माले बताउनुभयो । चालु आवमा डिभिजन वन कार्यालयबाट रु २२ लाख र भवन तथा शहरी विकास कार्यालयबाट विनियोजित रु १५ लाखमा विभिन्न संरचना निर्माण गरिएको छ ।

अघिल्लो आवमा वन डिभिजन कार्यालयको रु ५० लाखमा वाटर फाउण्टेन र शहीदको शालिक राख्ने काम भएको थियो । वन कार्यालयको रु दुई लाखको सहयोगमा कालिका सामुदायिक वनमार्फत उद्यानमा नर्सरीसमेत तयार गरिएको छ ।

प्रदेश नं ५ सरकार र नगरपालिकामार्फत चालु आवमा विनियोजन भएको रु ४८ लाख बजेटबाट तारबार र खम्बा गाड्ने काम सम्पन्न भएको छ । सोही रकमबाट तीन वनभोजस्थल, पानी ट्याङ्की, शौचालय निर्माणलगायतकाल संरचना निर्माण गरिने छ भने उद्योग वााणिज्य सङ्घको सहयोगमा प्रवेश निर्माणद्वार हुनेछ । कोरोना सङ्क्रमणको नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र वर्षाका कारण निर्माणको काम भने केही प्रभावित भएको छ ।
प्युठान उद्योग वाणिज्य सङ्घ, नगरपालिका र वन कार्यालयको सक्रियतामा आठ बिघा क्षेत्रफलमा उद्यान निर्माणको काम थालिएको हो । सो निर्माणका लागि रु १४ करोड १४ लाख ८१ हजार ६ सयको बजेट अनुमान गरिएको छ । बहुवर्षीय योजना भएकाले आगामी आर्थिक वर्षका लागि पनि विभिन्न निकायबाट सहयोग आएको निर्माण व्यवस्थापन समितिका सचिव शर्माले बताउनुभयो । उद्यानलाई केन्द्रमा राखी धार्मिक तथा पर्यटकीयस्थल मल्लरानी, गौमुखी, ऐरावती र स्वर्गद्वारीलाई पनि जोड्ने योजना बनेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: : 2020-07-13 13:02:00

प्रतिकृया दिनुहोस्