बलिउडमा कोरोनाको प्रभावः सारा अली खानको ड्राइभरलाई पनि कोरोना

एजेन्सी

मुम्बई

नव नायिका सारा अली खानको घरमा पनि कोरोना भाइरसको प्रवेश भएको छ। बलिउडका महानायक अमिताभ बच्चनबाट सुरु भएको कोरोनाको प्रभाव रेखाको सुरक्षाकर्मी, अनुपम खेरको आमा हुँदै सारा अलीको ड्राइभरसम्म पुगेको हो। सारा अलीले दिएको जानकारी अनुसार उनको ड्राइभरलाई सोमबार संक्रमण भएको थियो। 

उनले सोमबार राती सोशल मिडियमा यो जानकारी दिँदै भनिन्, ‘घरका बाँकी सदस्यको जाँच भएको थियो, अरुको रिपोर्ट नेगेटिभ आएको छ।’

ड्राइभरलाई मुम्बई महानगरपालिकाले बनाएको क्वारेन्टाइन सेन्टरमा पठाइएको छ। उनले मुम्बई महानगरपालिकाले गरेको सहयोगका लागि धन्यवाद भनेकी छिन्। सारा आफ्नो आमा अमृता सिंह र भाइ इब्राहिमसँग मुम्बईस्थित घरमा बसोबास गर्छिन्।

गत शनिबार महानायक अमिताभ बच्चन, उनको छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई कोरोना संक्रमणको लक्षण देखिएको थियो। शनिबार नै रेखाको घरको सुरक्षाकर्मी र आइतबार अनुपम खेरको आमासमेत परिवारका ४ सदस्य संक्रमित भएका थिए। 

गत महिना पनि आमिर खानको घरमा काम गर्ने मानिसलाई संक्रमण भएको थियो।

प्रकाशित मिति: : 2020-07-14 13:29:47

प्रतिकृया दिनुहोस्