जुम्लामा कुपोषण दर घट्दो क्रममा

रासस

जुम्ला

जुम्लामा कुपोषण दर घट्दो क्रममा रहेको छ। स्वास्थ्य कार्यालय जुम्लाको पाँच वर्षको तथ्याङ्कलाई हेर्ने भने कुपोषण घर घट्दो क्रममा रहेको हो। विसं २०७२ मा एक वर्षमुनिका बालबालिका १० दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १५ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत कुपोषित रहेका थिए।

त्यसैगरी विसं २०७३ मा एक वर्षमुनिका बालबालिका १२ दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव छ प्रतिशत कुपोषित थिए। विसं २०७४ मा एक वर्षमुनिका बालबालिका १० दशमलव नौ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ११ दशमलव नौ प्रतिशत कुपोषित रहेका थिए।

यस्तै विसं २०७५ मा एक वर्षमुनिका बालबालिका सात दशमलव दुई प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १० दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका नौ प्रतिशत कुपोषित रहेका थिए। विसं २०७६ मा एक वर्षमुनिका बालबालिका तीन दशमलव सात प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका सात दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका पाँच दशमलव सात प्रतिशत कुपोषित रहेका छन्।

विसं २०७२ मा ६५, २०७३ मा १४८, २०७४ मा २९२, २०७५ मा १११ र २०७६ मा ८३ जना कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए। उनले भने, ‘यस वर्षको तथ्याङ्क आउन बाँकी छ।’ यहाँको महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण गरी पोषणयुक्त बनाउनका लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमको प्राविधिक सहयोग भने मनहरी विकास संस्था (एमडिआई) नेपालले गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए। कार्यक्रमको प्रमुख लक्ष्य भनेकै आमा तथा बाल स्वाथ्य र पोषणमा सुधार ल्याउने रहेको छ। यहाँका एक नगरपालिका र सात गाउँपालिकामा रहेका आमा र बच्चालाई सर्वाेत्तम पिठो पोषणयुक्त खाना उपलब्ध गराउँदै आएको छ।
 
तातोपानी गाउँपालिका–५ लाम्रागाउँकी सरिता चौलागाईँले गर्भवती, सुत्केरी महिला र बच्चालाई वितरण गरिँदै आएको पोषणयुक्त आहार (सर्वाेत्तम पिठो)ले पोषणमा सुधार हुँदै आएको बताए। उनले भने, ‘लकडाउनमा पनि नियमित वितरण हुँदै आएकाले आमा र बच्चालाई सहज भएको छ।’ यो खाना आमा र बच्चा दुवैले रुचाएर खाने गरेका छन्। त्यसैगरी पातारासी गाउँपालिका–३ चौरगाउँकी पन्नी रावलका अनुसार कोरोना भाइरसले लकडाउन भएपछि प्रभावित भएका आमा र बच्चालाई सर्वाेत्तम पिठो वितरण गर्दा राहत भएको छ। यसले पोषण सुधार गर्नका साथै भोकमरीबाट पनि बचाएको उनले बताए।
 
एमडिआइ नेपाल जुम्लाका प्रमुख नवीन रावलका अनुसार गर्भवती तथा सुत्केरी आमा र सुनौला हजार दिनभित्रका बालबालिकाको पोषण सुधार गर्नका लागि आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालनमा रहेको छ। सन् २०१४ देखि जुम्लामा सञ्चालित कार्यक्रमले प्रतिमहिना पोषणयुक्त आहारा उपलब्ध गराउने र तौल लिने काम गर्दै आएको उनले बताए। त्यसैगरी पोषण र स्वास्थ्यसम्बन्धी परामर्श गर्ने गरिएको छ। दुई हजार ७४६ सुत्केरी, गर्भवती र चार हजार ५७ बालबालिका गरी छ हजार ८०३ जनालाई २० हजार ४०९ मेट्रिक टन पोषणयुक्त आहार (पोषिलो लिटो) वितरण गर्दै आएको प्रमुख रावलले बताए।
 
कुपोषण हटाउने सरकारको लक्ष्य

सरकारले सन् २०३० सम्ममा कुपोषणलाई अन्त्य गर्ने लक्ष्य लिएको छ। सरकारको लक्ष्यलाई राष्ट्रिय पोषण अभियानले सहयोग गर्ने विश्वास व्यक्त गर्दै बहुक्षेत्रीय पोषण योजनालाई प्रदेश र स्थानीय तहबीचको समन्वयमा अझ प्रभावकारी बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण कृषिमा आधारित देश भएकाले खाद्यान्नमा आत्मनिर्भर हुन र जैविक खेती अपनाउन, पोषणयुक्त खाद्यान्न उपलब्ध गराउन तथा कुपोषण अन्त्यमा ध्यान दिन सरकारी निकाय गम्भीर रहेको छ। सन् २०३० सम्म कुपोषण अन्त्य गर्ने सङ्घीय सरकारको लक्ष्य पूरा गर्न कर्णाली सरकारको पनि लक्ष्य रहेको छ।

सुनौलो हजार दिनभित्रका आमालाई पोषण आहारा

चन्दननाथ नगरपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई पोषणयुक्त आहारासहितको झोला वितरण गरेको छ। नगरपालिकाका ३० आमालाई पोषण झोला वितरण गरेको हो। चन्दननाथ–१ र ४ वडाका सुनौला हजार दिनका आमालाई पोषण झोला वितरण गरिएको स्वास्थ्य शाखा स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए।

दुवै वडाका १५/१५ आमालाई पोषण झोला वितरण गरिएको उनले बताए। सुरक्षित मातृत्व तथा सुत्केरीको पोषण अवस्था सुधार गर्ने उद्देश्य रहेको स्वस्थ्य शाखा निरीक्षक महतको भनाइ छ। प्रत्येक आमालाई पाँच किलो मार्सी चामल, एक लिटर तेल, दुई किलो सिमीको दाल, पाँच किलो आँटा, एक क्यारेट अण्डा, एक चक्की नुहाउने साबुन, मञ्जन, ब्रस, रायोको बीउ र गाजरको बीउ वितरण गरिएको हो।

सुत्केरी आमालाई पोषण उपलब्धता तथा मातृशिशु मृत्यदर कम गर्नु प्रमुख उद्देश्य रहेको महतको भनाइ छ। बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गतको बजेटबाट नगरपालिकाले पोषण झोला वितरण गरेको हो। युुनिसेफ र बहुुक्षेत्रीय पोषण योजनाको आर्थिक सहयोग तथा चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाको आयोजनामा सुनौलो हजार दिनभित्रका सुत्केरी आमालाई पोषण तथा सरसफाइ सामग्रीसहितको झोला प्रदान गर्दा आमाहरु हर्षित भएका थिए। 

महिलाका पीडा महसुस गरी नगरपालिकाबाट आमालाई सानो सहयोग कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख कान्तिका सेजुवालले बताए। गर्भावस्थादेखि नै पोषणमा विशेष ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य संस्थामा जाँच र प्रसूतिगृहमा नै सुत्केरी गराउनुपर्ने बताउँदै बच्चा जन्मिएपछि आमाले नियमित पोषिला खानेकुरा खानुपर्ने नगरप्रमुुख सेजुवालले सुझाए।

 

प्रकाशित मिति: : 2020-07-15 10:08:37

प्रतिकृया दिनुहोस्