मौद्रिक नीति आज सार्वजनिक हुँदै, कोरोना प्रभावित व्यवसायीलाई राहत दिने तयारी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंक बोर्ड बैठकले आज दिउँसो ३ बजे सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ।

गभर्नर भएपछि महाप्रसाद अधिकारीले ल्याउन लागेको यो पहिलो मौद्रिक नीति हो। कारोना भाइरसका कारणले गर्दा मौद्रिक नीति टेलिभिजनबाट सार्वजनिक गर्ने कार्यतालिका रहेकाे छ।

विपक्षी दल नेपाली कांग्रेसले बिहीबार नेपाल राष्ट्र बैंकलाई  वित्तीय स्थायित्व र आर्थिक वृद्धि हासिल गर्ने किसिमको मौद्रिक नीति ल्याउन सुझाव दिएकाे थियाे।

उद्योगी व्यवसायीलाई सहुलियत दिन मौद्रिक नीतिले पुर्नकर्जा कोषलाई बढाएर दुई खर्ब रुपियाँ बनाउनुपर्ने सुझाव दिँदै आगामी मौद्रिक नीति ब्याजदरमा स्थायित्व, मुद्रास्फिति नियन्त्रण, रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित हुनुपर्ने कांग्रेसकाे माग थियाे।

केन्द्रीय बैंकले कोरोना प्रभावित सबै खालका व्यवसायीलाई राहत दिने हिसाबले मौद्रिक नीति ल्याएकाे बताएकाे छ। उसले कोरोनाबाट प्रभावित भएकालाई ठूलो प्याकेजको राहत, मध्यम असर परेकालाई सोही अनुसारको राहत प्याकेज ल्याउन लागेको जनाएकाे छ। 

खासगरी अप्ठेरोमा परेको अर्थतन्त्रलाई माथि उकास्ने सहज ऋण उपलब्धता, कम दरमा ब्याज, पुनर्कर्जा सुविधा, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा नीतिले जोड दिएकाे बताइएकाे छ। 

प्रकाशित मिति: : 2020-07-17 12:34:25

प्रतिकृया दिनुहोस्