मोदीको निर्वाचन क्षेत्रमा नेपाली युवकको कपाल मुन्डन गरी लेखियो जय श्रीराम

प्रधानमन्त्रीले बयान फिर्ता नलिए भारतमा रहेका नेपालीले परिणाम भोग्नुपर्ने चेतावनी

एजेन्सी

बाराणासी

प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थानबारे केही दिनअघि काठमाडौंमा दिएको बयान पछि भारतमा रहेका नेपालीले सजाय भोग्नुपरेको छ।

प्रधानमन्त्री ओलीले रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री ओलीको भाषणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेका छन्। यति मात्र होइन, उनीहरुले ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएका छन् भने प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी गर्न पनि लगाएका छन् ।

हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। जब भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलविरुद्ध एफआईआर दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको छ। ती नेपाली युवकको परिचय भने भारतीय सञ्चारमाध्यममा खुलाइएका छैनन्।

भाइरल भिडियोमा गंगाको घाट नजिक यो घटना भएको देखिन्छ जहाँ नेपाली युवकलाई संगठन र हिन्दूस्तान जिन्दावादको नारा लगाउन दबाब दिइरहेको देख्न सकिन्छ। उनीहरुले ती युवकलाई जय श्रीरामको नारा र केपी ओली मुर्दाबादको नारा पनि लगाउन लगाउँछन् ।

त्यसपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले साहरा दिएको कुरा उल्लेख गर्छन्। उनले राम नेपालको नभएर भारतको भएको पनि बताउँछन् । र, अन्त्यमा जय श्रीराम र भारत माताको जयको नारा लगाउँछन् ।

हिन्दूवादी संगठनले बिहीबार नै वाराणसी चोक क्षेत्रस्थित नेपाली मन्दिर बाहिर चेतावनीसहितको पोस्टर लगाएका थिए । जसमा प्रधानमन्त्री ओलीले भगवान रामबारे दिएको बयान फिर्ता लिन माग गरेका थिए । उनीहरुले त्यसो नगरे भारतमा रहेका नेपालीले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

सो क्षेत्रका भारतीय प्रहरीका एसपी सिटी विकास चन्द्र त्रिपाठीका अनुसार अरुण पाठक नाम गरेका एक व्यक्तिले उक्त फोटो मुन्डन गरेर फेसबुकमा पोष्ट गरेका हुन् । यस विषयमा भेलूपुर थानामा एफआईआर दर्ता भएको र दोषीलाई पक्राउ गर्न खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्रोतः अमर उजाला

प्रकाशित मिति: : 2020-07-17 13:10:02

प्रतिकृया दिनुहोस्