प्रधानमन्त्री ओली चीनको कठपुतली हुन्, कुनै चर्चित राजनेता हाेइनन्: शिव सेना

भारतीय कट्टर हिन्दू राष्ट्रवादी पार्टी शिव सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै उनी हिन्दू भएपनि चीनको कठपुतली बनेको आरोप लगाएको छ। 

केही दिन अगाडी प्रधानमन्त्री ओलीको ‘वास्तविक अयोध्या नेपालमा पर्छ, भारतको अयोध्या नक्कली हो’ भन्दै दिएकाे तर्कलाई हाँस्यास्पद भएको शिव सेनाले बताएकाे छ।

पार्टीको मुखपत्र सामना पत्रिकामार्फत चीनले नेपालदेखि भारतसम्म धार्मिक उन्माद फैलाउने काम गरिरहेको जनाएको छ।

शिव सेनाले प्रधानमन्त्री ओलीलाई चीनको प्रत्यक्ष कठपुतली भन्ने आरोपलाई पटक–पटक जोडेको छ। भगवान् राम कहाँ जन्मिए भन्ने प्रश्न अब नरहेको र राम जन्मभूमि विवाद भारतीय सर्वोच्च अदालतले सुल्झाएको उल्लेख गरेको छ।

शिव सेना प्रवक्ता तथा सामना पत्रिका कार्यकारी सम्पादक सन्जय राउतले रोखठोक स्तम्भमा प्रधानमन्त्री ओली कुनै चर्चित राजनेता नभएको जनाएका छन्। ओलीलाई भारत विरोधी बयानका कारण नेपाल र भारतमा चर्चामा आएको पात्रका रुपमा चित्रण गरिएको छ।

सामनाले भारतमा रहेको वाल्मीकि आश्रमको केही भाग नेपालसँग जोडिएको जनाएको छ। नेपालमा पर्ने अयोध्या सामान्य गाउँ मात्रै भएको उसको दाबी छ।

प्रधानमन्त्री ओलीमार्फत चीनले नेपालका राजनीतिज्ञ र सांसदहरुलाई पैसा दिँदै आएको आरोप समेत लगाइएको छ। चीनसँग नजिकिएका ओलीले भारत विरोधी भूमिका खेल्नु स्वाभाविक जनाएका छन्। नेपाल र भारतको भौगोलिक, धार्मिक र सांस्कृतिक सम्बन्ध अटुट रहेको र चीनले यसलाई तोड्न नसक्ने शिव सेनाको तर्क छ।
 

प्रकाशित मिति: : 2020-07-19 19:04:41

प्रतिकृया दिनुहोस्