राहुलको अर्को ट्वीटः प्रधानमन्त्री मोदी आफ्नो छवी बिग्रिन नदिन झुटको सहारा लिँदैछन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुटो कुराको सहाराले आफ्नो छवी बलियो बनाएको कारण विश्वस्तरमा आज भारतको अवस्था कमजोर भएको आरोप प्रतिपक्षी कांग्रेस पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीले लगाएका छन्। 

पछिल्लो केही महिना यतादेखि भारतीय प्रधानमन्त्री मोदीविरूद्ध सोशल मिडियामा आक्रामक बनेका राहुलले सोमबर पुनः अर्को ट्वीट गर्दे भने, ‘पिएमले सत्तामा स्थापित हुन झुटो कुराले बलियो छवी बनाए। यो नै उहाँको बलियो शक्ति हो तर भारतका लागि यही सबैभन्दा ठूलो कमजोरी बन्न पुगेको छ।’

राहुलले ट्वीटसँगै एउटा भिडियो पनि शेयर गरेका छन्। जसमा उनले चिन्ता व्यक्त गरेका छन्। ‘चीन आज हाम्रो क्षेत्रमा बसेको छ। चीन कुनै रणनीति बिना यस्तो कार्य गर्दैन। उनीहरूको दिमागमा विश्वको नक्सा छ र आफ्नो हिसाबले यसलाई फैलाउँदै लगिरहेको छ। यसैमा ग्वादर र बेल्ट एण्ड रोड पनि समावेश छ,’ राहुलले भनेका छन्। 

उनले सामरिकस्तरमा चीनले आफूलाई बलियो बनाउँदै लगिरहेको स्पष्ट पार्न खोजेका छन्। ‘यसैको नतिजा हो, उनीहरूले गलवान, डेमचोक, पैङ्गोङ लेकमा आफ्नो धारणा स्पष्ट पारेका छन्। उनीहरू हामीले निर्माण गरेको हाईवेबाट दिक्क छन्। उनीहरू यसलाई बर्बाद गर्न चाहन्छन्। साथै उनीहरू पाकिस्तानसँग मिलेर काश्मिरमा केही गर्ने योजनामा छन्। यसैले यो विवाद साधारण हुँदै होइन,’ उनी भन्छन्। 

उनले प्रधानमन्त्री मोदीलाई दबाबमा राख्ने सुनियोजित चाल अन्तर्गत सीमा विवाद भएको बताए। ‘चीन विशेष तरिकाले दबाब बनाउने सोचमा छ। उनीहरू प्रधानमन्त्रीको छवीमा हमला गरिरहेका छन्। उनीहरूलाई थाहा छ, मोदीलाई प्रभावशाली राजनीतिज्ञ बनिरहने बाध्यता छ। एउटा राजनीतिज्ञको रूपमा उनलाई ५६ इन्चीको छवीको रक्षा गर्नुपर्ने बाध्यता छ। उनले बुझ्नु पर्छ, चीन यही कुरामा हमला गरिरहेको छ,’ राहुलले भनेका छन्, ‘उनीहरू विशेष रूपमा मोदीसँग भनिरहेका छन्, यदी चीनले भनेको कुरा मान्नु हुन्न भने तपाईको बलियो नेताको छवीलाई नोक्सान पुर्‍याउने छौं।’

प्रकाशित मिति: : 2020-07-20 13:21:14

प्रतिकृया दिनुहोस्