सुलेमानीको हत्यामा अमेरिकालाई सघाएको आरोपमा माजिदलाई मृत्युदण्ड

एजेन्सी

तेहरान

आफ्नो लोकप्रिय जर्नेल कासिम सुलेमानीको हत्या गर्न अमेरिकालाई सघाएको आरोपमा इरानले महमुद मुसावी माजिदलाई मृत्युको सजाय सुनाएको छ। 

इरानको सरकारी मिडियाले सोमबार बताएअनुसार माजिदलाई सजा–ए–मौत दिने विषयमा सरकार स्पष्ट थिएन। यद्यपि गत महिना नै यसको निर्णय भइसकेको थियो। 

सुलेमानीलाई अमेरिकाले इराकको बगदाद एयरपोर्ट नजिकै ड्रोन हमलामा मारेको थियो। सुलेमानी इरानको कुद्स फोर्सको प्रमुख थिए। ३ जनवरीमा उनी सिरियाबाट इराकको बगदादस्थित विमानस्थलमा फर्किएका थिए। यही कारमा बसेको बेला अमेरिकाले एक्कासी एमक्यु–९ ड्रोनबाट हमला गरेको थियो। 

सुलेमानीको बगदाद भ्रमण निकै गोप्य राखिएको थियो। तर, माजिदले यसको जानकारी अमेरिकालाई उपलब्ध गराएको आरोप लागेको थियो। उनले इरानको गोप्य जानकारी इजराइलको जासुसी संस्था मोसादलाई उपलब्ध गराएको आरोप यसअघि पनि लागेको थियो।

प्रकाशित मिति: : 2020-07-20 17:52:14

प्रतिकृया दिनुहोस्