रोनाल्डोकाे कीर्तिमानी गाेलमा युभेन्ट्सकाे जित, सिरी एकाे उपाधि पक्का

एजेन्सी

काठमाडाैं

सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्ट्सले उपाधि होडमा दबाब दिँदै आएको लाजिओलाई २–१ ले पराजित गरेकाे छ। 

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल बिहीन भएको युभेन्ट्सका लागि क्रिष्टियानो रोनाल्डोले दोस्रो हाफमा दुई गोल गरेका थिए।

५१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका रोनाल्डोल ५४ औँ मिनेटमा पाउलो डिबालाको पासमा व्यक्तिगत दोस्रो गोल गरेका हुन्।

लाजिओका लागि ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा चिरो इमोमिलेले एक गोल फर्काएका हुन्। जितसँगै युभेन्टस उपाधि नजिक पुगेको छ। उसको ३४ खेलबाट ८० अंक भएको छ।

दोस्रो स्थानको इन्टर मिलानको ७२, तेस्रो स्थानको एट्लान्टाको ७१ तथा चौथो स्थानमा पुगेको लाजिओको ६९ अंक रहेको छ। युभेन्ट्सले अब चार खेलबाट चार अंक मात्रै जाेडे पनि लगातार नवौँपटक उपाधि जित्ने छ।

रोनाल्डोले बनाए कीर्तिमान

रोनाल्डो इटालियन सिरी ए, स्पेनिस ला लिगा तथा इंग्लिस प्रिमियर लिगमा कम्तिमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

लाजियाेविरुद्ध रोनाल्डोले दुई गोल गरेर महत्वपूर्ण ५० गोलको आँकडा पार गरेका हुन्। रोनाल्डोले गएको सिजन सिरी ए मा २१ तथा यो सिजन ३० गोल गरेसँगै उनको गोल संख्या ५१ पुगेको हो।

यस्तै चिरोले पनि ३० गोल नै गरेका छन्। रोनाल्डो सन् २००७–०८ को सिजनपछि सिरी ए मा गोल्डेन बुट जित्ने पहिलो युभेन्ट्स खेलाडी बन्ने प्रयासमा छन्। सो सिजनमा एलेसान्ड्रोले गोल्डेन बुट जितेका थिए।

यस्तै रोनाल्डोले ला लिगामा रियल मड्रिडका लागि ३११ तथा प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि ८४ गोल गरेका छन्।

रोनाल्डो यो शताब्दीमा सबैभन्दा चाँडो सिरी ए मा ५० भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले ६१ खेलमा ५१ गोल गरेका हुन्।

प्रकाशित मिति: : 2020-07-21 06:42:15

प्रतिकृया दिनुहोस्