गोविन्दाले भने, भारतीय फिल्म ४–५ मान्छेको हातमा छ

एजेन्सी

मुम्बई

बलिउडमा सुरु भएको नातावाद र परिवारवादको बहसमा चर्चित अभिनेता गोविन्दा पनि समावेश भएका छन्। उनले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा आफ्नो परिवार निर्मला देवी र अरुणकुमार आहुजा कलाकार हुँदा पनि आफूले बलिउडमा संघर्ष गरेको बताए। उनले बलिउडमा गुटबन्दी हुने गरेको कुरालाई स्विकार गरेका छन्। 

उनले भने, ‘बलिउडमा गुटबन्दी हुने कुरालाई म अस्विकार गर्दिन। पहिले जोसँग क्षमता हुन्थ्यो त्यसले काम पाउँथ्यो। हरेक फिल्मले सिनेमा हलमा उत्तिकै मौका पाउँथ्यो। तर, अब ४–५ व्यक्तिले पुरै व्यापार चलाएका छन्। उनीहरू नै निर्णय गर्छन, जो व्यक्ति उनीहरूको नजिक छ, उनीहरूको मात्र फिल्म रिलिज गर्ने। मेरो पनि केही फिल्मले उचित समयमा रिलिजको मौका पाएन।’

उनले आफू २१ वर्षको हुँदा फिल्ममा प्रवेश गरेको पुरानो कहानी सुनाए। उनले आफू बलिउडमा आउँदा आफ्नो आमाबुवाले फिल्म खेल्न बन्द गरिसकेको बताए। ‘यसैले धेरैलाई थाहा भएन म कस्तो परिवारबाट फिल्म लाइनमा आए भनेर। मलाई निर्माता भेट्न घण्टौं कुर्नु पथ्र्यो,’ उनले भने। 

गोविन्दाले करिअरको सुरुवातमै सफलता प्राप्त गरेका थिए। तर त्यति बेलै धेरैले आफूलाई बलिउडमा टिक्न नसक्ने बताएको प्रसंग उप्काउँदै उनले भने, ‘अमिताभ बच्चन, विनोद खन्ना, राजेश खन्नाले पनि यस्तो अवस्था फेस गरिसक्नु भएको छ। बलिउडलाई बुझ्ने तपाईसँग क्षमता हुनुपर्छ। कि तपाईले मिहिनेत गर्नुपर्छ, नभए यस्तो कुरा सुन्नु पर्ने हुन्छ।’

उनले आफू हिरो भएकै कारण आफ्नो छोरी फिल्म लाइनमा आउने कुरा अस्विकार गरे। उनले छोरी टिनाको विषयमा भने, ‘मैले छोरीको विषयमा त्यति कुरा गरेको छैन। यदी मैले कुरा गरेको भए, अवस्था अर्के बन्न सक्थ्यो। म उसले आफ्नो करिअर आफैले तय गरोस् भन्ने पक्षमा छु।’

प्रकाशित मिति: : 2020-07-21 09:29:40

प्रतिकृया दिनुहोस्