शिक्षकलाई साबुन र स्यानिटाइजर दिएर टोलटोलमा पढाउन पठाउने स्कुल

विद्यार्थीलाई सिकाइ सहजीकरण गर्दै केही निजी स्कुलले अनलाइन कक्षा चलाइरहेका छन्। तर गाउँघरका सामुदायिक स्कुलमा यो सम्भव छैन। प्रविधिमा पहुँच नभएका विद्यार्थी वैकल्पिक सिकाइबाट बञ्चित छन्।

विद्यार्थी र सिकाइबीचको यही दुरी कम गर्न लागि परेको छ चितवनको एक सामुदायिक विद्यालय। यो स्कुलले आफ्ना शिक्षकलाई नै साबुन, स्यानिटाइजर र मास्कसहित टोलटोलमा पठाइरहेको छ। 

रत्ननगर नगरपालिका –१६ स्थित भद्रकाली माध्यमिक विद्यालयले सामाजिक दूरी कायम हुनेगरी सिकाइ कक्षा सञ्चालन गरेको छ जहाँ शिक्षक आफैं साबुन, स्यानिजाइटर, मास्क बोकेर टोलटोल पुग्छन्।

सिकाइ सहजीकरण निर्देशिका अनुसार प्रत्येक दिन मुख्य एक विषयबारे छलफल गर्ने गरी विद्यार्थीको घरदैलोसम्म शिक्षक पठाएको प्रधानाध्यापक तिलकबहादुर कुँवरले सेतोपाटीलाई बताए।

'सहरमा जस्तो अनलाइन कक्षा सञ्चालन गर्न हामीकहाँ सुविधा छैन। रेडियो-टेलिभिजनको पहुँच पनि सबैमा छैन,' कुँवरले भने, 'विद्यार्थी बाहिर डुल्ने, अघिल्लो वर्ष पढेका कुरा बिर्सने वा स्कुल छाड‍्ने समस्या आउन नदिन उनीहरूलाई व्यस्त राख्न खोजिएको हो।'

लामो समय विद्यालय बाहिर भएका विद्यार्थीको सिक्ने रूचि घट्दै जाने बताउँदै कुँवर थप्छन्, 'यसपछि स्कुल छोड्ने केटाकेटी सामुदायिक विद्यालयकै धेरै हुन्छन्। बर्सेनि बढ्दै गएको यो दर कम गर्न विद्यार्थी र शिक्षक नजिक हुन जरुरी छ।'

प्रकाशित मिति: : 2020-07-23 23:39:39

प्रतिकृया दिनुहोस्