वीरगञ्जमा ५ थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि, नारायणी अस्पताल सिल

वीरगञ्जमा ५ थुनुवासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ९ महिनाका बालकदेखि ६० वर्षकी बृद्ध महिला संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए।

उनीहरुको स्वाब  गत साउन ६ र ७ गतेको संकलन गरिएको थियो। 

उनका अनुसार सर्लाही र बाराका एक एक जना तथा भारतका ५ जना थुनुवामा कोरोना पुष्टि भएको हो। बाँकी संक्रमित पर्साका रहेका छन्।

संक्रमित हुनेमा २५ जना पुरूष र ७ जना महिला छन्। अन्य ५ जना थुनुवा संक्रमित वडा प्रहरी कार्यलय श्रीपुरमा रहेका छन्। 

अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्, भने केही आफैं शंका लागेर जाँच गराएको र केही पेड पीसीआर गराउनेहरू छन्।

संक्रमितलाई नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा लगिएको छ।

अस्पतालमा आकस्मिक सेवा मात्र खुल्ने 

बिहीवारदेखि नारायणी अस्पतालको सर्जिकल, आइसीयू कक्ष सिल गरिएको छ।

त्यस्तै, एडभान्स मेडिकेयर हस्पिटल, अलि अर्थो ट्रमा सेन्टर, शान्ति पोली क्लिनिकलगायत अस्पताल सिल भएको  सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए। अस्पतालमा उपचाररत बिरामीहरुमा संक्रमण देखिएकोले अस्पतालको सेवा बन्द गर्नु पर्ने नीति अनुसार प्रशासनको निर्णय अगावै व्यवस्थापन पक्षले नै अस्पताल सिल गरेको उनले बताए।

‘नारायणी अस्पतालका चिकित्सक, बिरामी तथा सरसफाइकर्मीमा कोरोना पुष्टि भएको छ’, उनले भने, ‘अस्पतालहरु सिल भएका छन् तर प्रशासनको आधिकारिक निर्णय आउन बाँकी छ।’

यता नेपाल चिकित्सक संघ नारायणी शाखाले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेको थियो।

कोरोना महामारीको जोखिमपूर्ण अवस्थामा साउन ९ गते देखि अर्को सूचना नभएसम्मका लागि आकाश्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्न र कोरोना नियन्त्रणका लागि डब्लूएचओले निर्धारण गरेको गाइडलाइनलाई पूर्णरुपमा पालना गरेर मात्र आकाश्मिक सेवाहरु प्रवाह गर्न सघले विज्ञप्तिमार्फत अनुरोध गरेको थियो।

अस्पताल सिल हुन थालेपछि पर्सा, बारा, रौतहटका बिरामीहरुको लागि उपचार सेवा कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल शुरु भएको उनले बताए। शुक्रवार बिहान ११ बजे बस्ने संकट व्यवस्थापन केन्द्रको बैठकमा लकडाउन तथा अस्पतालको सेवाका बारेमा आधिकारिक निर्णय आउने तयारी रहेको बताइएको छ।

निषधाज्ञाको तयारी

पर्साको समुदाय स्तरमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले शुक्रबार ११ बजेका लागि बैठक बोलाएको छ। 

बैठकले कोरोनाको संक्रमणको रोकथामको निर्णय लिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

बैठकमा निषेधाज्ञा,लकडाउन वा कर्फ्यू के लगाउने भन्ने बिषयमा निर्णय लिइने उनले बताए। 

प्रकाशित मिति: : 2020-07-24 11:58:28

प्रतिकृया दिनुहोस्