खुला बिक्री, फितलो कानुन, ढिलो न्याय, प्रेमभन्दा मनोरोग

किन बारम्बार एसिडले पाेलिन्छन् निर्दाेष अनुहार ?

‘औषधि किन्न डाक्टरको सिफारिस पुर्जी चाहिने तर एसिड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसिड आक्रमण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्नुहुन्छ ।

नेपालमा एसिड आक्रमणका घटना वृद्धि हुनुको पछाडि नेपालको कानुन नै मुख्य कारण रहेको थापाको अनुभव छ । ‘मान्छेले आवेगमा आएर बन्दुक र खुकुरी प्रहार गर्छ तर एसिड आक्रमण निक्कै सोचेर, लामो समयदेखिको तयारी गरेर गरिने भएकाले यसमा धेरै कैद सजाय गरिनुपर्छ’ थापा भन्नुहुन्छ ।

बिहीबार काठमाडौँमा भएको घटना एसिड सर्वसुलभ भएकैले मात्रै नभएर मनोरोग बोकेका मान्छेहरूको गलत चिन्तनको कारणले भएको बताउनुहुन्छ, थापा । ‘पुरुष ४८ वर्षको हुनुहुन्छ, केटीको उमेर २२ वर्ष छ । अनि एसिड छ्याप्न आउने युवा २३ वर्षको ।’ थापा भन्नुहुन्छ, ‘यो कुनै पनि प्रेम हैन, यो त मानसिक रोग मात्रै हो ।’

कसैको सन्काहापन प्रेमसँग नजोडिने थापा बताउनुहुन्छ । तेजाब बेच्नेलाई अनिवार्य लाइसेन्ससँगै किन्नेले परिचयपत्र राखेपछि मात्रै ठेगाना खुलाएर पाउने व्यवस्था नगरेपछि तेजाब आक्रमण नरोकिने उहाँले बताउनुभयो ।

यस्ता अपराधमा हुने फितलाे कारबाहीले तेजाब आक्रमणका घटनाहरू बढिरहेको थापाले बताउनुभयो । एउटा महिला र पुरुषको अनुहारमा तेजाब हालेपछि उसको जीवन नै बिग्रन्छ, त्यसैले जीवन सकिने भएकाले तिनीहरूलाई जन्मकैदको फैसला सुनाएमा मात्रै आक्रमणमा कमी आउने आशा आफूहरूले लिएको उहाँले बताउनुभयो । नेपालको कानुनमा मुख बिग्रिने गरी एसिड हालेमा आठ वर्षसम्म कैद र हात र शरीरमा परेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: : 2020-07-25 08:36:37

प्रतिकृया दिनुहोस्